मंसीरको तथ्यांकमा कस्तो देखिन्छ अर्थतन्त्रको स्वास्थ्य?
व्यवसायीले देशभित्रको आर्थिक स्थिति शिथिल रहेको बताइरहेका वेला बाह्य क्षेत्रमा भने निरन्तर सुधार आएको तथ्यांकले देखाएको छ।
नेपाल राष्ट्र ब्यांकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार मंसीरमा देशको बाह्य कारोबारलाई जनाउने शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, रेमिटेन्सको आप्रवाह लगायत क्षेत्रमा उल्लेख सुधार देखिएको छ।
मंसीरसम्म देशको चालू खाता एक खर्ब ४० अर्ब रुपैयाँले बचतमा रहेको राष्ट्र ब्यांकको तथ्यांक छ। चालू खाता सकारात्मक हुनुको अर्थ विदेशसँगको कारोबारमा नेपालको स्थिति धनात्मक हुनु हो। गत वर्षको मंसीरमा चालू खाता ४१ अर्ब रुपैयाँले घाटामा थियो।
देशबाट भित्रिने र बाहिरिने रकमबीचको अन्तर भनी चिनिने शोधनान्तर स्थिति मंसीरमा दुई खर्ब १० अर्ब रुपैयाँले बचतमा छ। यसले देशबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम धेरै भएको देखाउँछ। गत वर्षको मंसीरमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले मात्रै बचतमा थियो।
तर नेपालले वस्तु वा सेवा निर्यात गरेर, पर्यटक धेरै भित्र्याएर वा विदेशी लगानी ल्याएर पैसा कमाएको होइन। विदेशमा श्रम गर्न गएका नेपालीले पठाएको रेमिटेन्सको बलमा यो सबै प्रगति देखिएको हो।
मंसीरसम्म नेपालले रेमिटेन्स मार्फत चार अर्ब ६२ करोड अमेरिकी डलर आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा करीब एकचौथाइले धेरै हो। मंसीरसम्म नेपाल भित्रिएको रेमिटेन्सको मूल्य नेपाली मुद्रामा रु.६ खर्ब १३ अर्बभन्दा बढी हुन्छ। यो रकम देशको वार्षिक बजेटको एकतिहाइभन्दा पनि धेरै हो।
रेमिटेन्सले देशको ढुकुटी भरिदिएका कारण विदेशी मुद्राको सञ्चिति पनि उपल्लो तहमा उक्लिएको छ। मंसीरसम्म १३ अर्ब ३१ करोड अमेरिकी डलर बराबरको विदेशी मुद्राको सञ्चिति छ। यो अहिलेसम्मकै सर्वाधिक विदेशी मुद्राको सञ्चिति हो।
विदेशी मुद्राको सञ्चिति पर्याप्त बढेपछि देशको आयात गर्ने क्षमता पनि बढेको छ। राष्ट्र ब्यांकका अनुसार अहिलेको सञ्चितिले ११ महीना २४ दिनको वस्तु तथा सेवा आयातलाई थेग्छ। सामान्यतया सात महीनाको वस्तु र सेवालाई आयात गर्ने रकम देशसँग हुनुपर्छ भन्ने मान्यता छ।
देशको बाह्य क्षेत्रमा निरन्तर सुधार देखिए पनि देशभित्र मूल्यवृद्धिदर बाहेक अर्थतन्त्रका अन्य सूचकमा खासै सुधार देखिएको छैन। राष्ट्र ब्यांकका अनुसार मंसीरमा मूल्यवृद्धि दर ४.९५ मा ओर्लिएको छ, जुन २५ महीनायताकै न्यून हो।
देशभित्र वस्तु र सेवाको माग घटेको, ब्यांक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न नसकेको, अर्थतन्त्र शिथिल भएको व्यवसायीले बताउँदै आएका छन्। तथ्यांकले पनि त्यसलाई संकेत गरेको छ।
राष्ट्र ब्यांकका अनुसार मंसीरसम्म वस्तु आयात गत वर्षको तुलनामा ३.४ प्रतिशतले घटेको छ। यस वर्षको मंसीरसम्म नेपालले ६ खर्ब ४२ अर्ब रुपैयाँको मात्रै वस्तु आयात गरेको छ। पछिल्ला दुई वर्षदेखि आयात खस्किइरहेको छ। बजारमा माग सिर्जना नभएकाले आयात घटेको व्यवसायीले बताउने गरेका छन्।
सुन, कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान लगायत वस्तुको आयात घटेको केन्द्रीय ब्यांकले जनाएको छ। तर तयारी पोशाक, एमएस तार (फलामे तार), छड, फलामे बार तथा क्वाइल, विद्युतीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायत वस्तुको आयात बढेको जनाइएको छ।
आयात जस्तै निर्यात पनि खस्किएको छ। मंसीरसम्म नेपालले गर्ने निर्यातमा ६.१ प्रतिशतले कमी आएको छ। मंसीरसम्म नेपालले ६३ अर्ब २१ करोड रुपैयाँको मात्रै निर्यात गरेको छ। खासगरी जिंक शीट (जस्तापाता), जूस, पोलिस्टर धागो, तयारी पोशाक लगायत वस्तुको निर्यात बढेको र पाम तेल, सोयाबिन तेल, चिया, ऊनी गलैंचा, रोजिन लगायत वस्तुको निर्यात घटेको जनाइएको छ।
यस अवधिमा नेपालले वैदेशिक व्यापारमा पाँच खर्ब ७९ अर्ब रुपैयाँ घाटा बेहोरेको छ।
ब्यांक तथा वित्तीय संस्थाको कर्जा प्रवाह पनि अपेक्षित नबढेको तथ्यांकले देखाएको छ। मंसीरसम्म ब्यांक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा २.३ प्रतिशतले मात्रै बढेको छ। यस वर्ष राष्ट्र ब्यांकले कर्जा ११ प्रतिशतले बढाउने लक्ष्य लिएको थियो।
साउनदेखि मंसीरसम्म कर्जा प्रवाह एक खर्ब १० अर्ब रुपैयाँले मात्रै बढेको छ। ऋण लिएर नयाँ उद्यम व्यवसाय गर्न खोज्ने प्रोत्साहित नभएका कारण कर्जा बढ्न नसकेको व्यवसायीले बताउने गरेका छन्। ब्यांक तथा वित्तीय क्षेत्रको कर्जा प्रवाह बढेमा मात्रै अर्थतन्त्रको शिथिलता तोडिने उनीहरूले बताउने गरेका छन्।