रामबहादुर बम्जनलाई थुनामा राख्न आदेश
जिल्ला अदालत, सर्लाहीले धर्मगुरु रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। यौन शोषणको आरोपमा पक्राउ परेका बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।
बम्जनलाई पुस २४ मा काठमाडौंको बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गरिएको थियो। उनलाई बिहीबार जिल्ला अदालत, सर्लाहीमा उपस्थित गराइएको थियो।
उनी विरुद्ध २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय, मलंगवामा सर्लाहीकी २२ वर्षीया युवतीकी आमाले उजुरी दिएकी थिइन्। आश्रममा आनीकी रूपमा बसेकी युवतीलाई यौन शोषण गरेको आरोप बम्जनलाई लागेको थियो।
यौन शोषणको मुद्दामा जिल्ला अदालतले २०७६ माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पुस २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६, टनगाउँस्थित बम्जनको घरमा तीन करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ भेटिएको थियो। जसमा नेपाली मुद्रा तीन करोड तीन लाख ७५ हजार ५०० रुपैयाँ र विदेशी मुद्रा ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबर थियो। बम्जनको घरमा १७ देशका मुद्रा भेटिएका थिए।