महंगी घट्न थाल्यो, मूल्यवृद्धि दर ५ प्रतिशतभन्दा कम
पछिल्ला दुई वर्षमा चर्किएको महंगी केही महीनायता घट्न थालेको तथ्यांकले देखाएको छ।
नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो पाँच महीना (मंसीरसम्म)को तथ्यांकले मूल्यवृद्धि दर पाँच प्रतिशतभन्दा तल ओर्लिएको देखाएको हो। यो २५ महीनायताकै न्यून हो।
राष्ट्र ब्यांकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार मंसीरमा उपभोक्ता मूल्यवृद्धि दर ४.९५ प्रतिशतमा सीमित भएको छ। गत आर्थिक वर्षको यही अवधिमा मूल्यवृद्धि दर ७.३८ प्रतिशत थियो।
२०७८ असोजमा मूल्यवृद्धि दर ४.२४ प्रतिशत थियो। त्यसपछि मूल्यवृद्धि दर उकालो चढ्न शुरू गरेर दुई वर्ष उच्च बिन्दुमा कायम थियो। गत आर्थिक वर्षको औसत मूल्यवृद्धि दर ७.७४ प्रतिशत पुगेको थियो।
पछिल्ला दुई महीनायता भने मूल्यवृद्धिको गति मत्थर हुन थालेको देखिएको छ। कात्तिकमा मूल्यवृद्धि दर ५.३८ प्रतिशतमा ओर्लिएको थियो। कात्तिकभन्दा पनि मंसीरमा मूल्यवृद्धि दर थप घटेको छ।
मूल्यवृद्धि दर घट्नुले बजारमा वस्तु र सेवाको मूल्यको वृद्धिदर थामिएको संकेत गर्छ। यसको अर्थ हरेक वस्तु र सेवाको मूल्य घटेको भन्ने होइन। राष्ट्र ब्यांकले ४९६ वटा वस्तु र सेवाको बजार मूल्य संकलन गरेर तिनको भारका आधारमा मूल्यवृद्धि दर निकाल्छ।
राष्ट्र ब्यांकका अनुसार मंसीरमा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि दर ५.१० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.८४ प्रतिशत छ। यसले भान्साको महँगी दर धेरै रहेको देखाउँछ।
राष्ट्र ब्यांकले घ्यू तथा तेल, तरकारी र मासु तथा माछाको मूल्यमा कमी आएको, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको तथा २०८० कात्तिकको तुलनामा मंसीरमा तरकारी, फलफूल, मरमसला, चिनी जस्ता वस्तुको मूल्यमा कमी आएकाले मूल्यवृद्धि दर घटेको दाबी गरेको छ।
गत वर्षको तुलनामा घ्यू तथा तेलको मूल्य १३.६६ प्रतिशतले, तरकारीको मूल्य ८.३७ प्रतिशतले र मासु तथा माछाको मूल्य ०.१३ प्रतिशतले घटेको केन्द्रीय ब्यांकको तथ्यांक छ।
तर गत वर्षको तुलनामा मरमसलाको मूल्य ३७.२२ प्रतिशत, फलफूलको मूल्य १३.३७ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको मूल्य १३.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३० प्रतिशत, दूग्ध पदार्थ तथा अन्डाको मूल्य १०.५९ प्रतिशत र दाल तथा गेडागुडीको मूल्य १०.५६ प्रतिशतले बढेको जनाइएको छ।
भान्सामा नभई नहुने खाद्यान्न, चिनी, मरमसला, दूध तथा दालको मूल्य बढेका कारण विपन्न नागरिक थप मर्कामा परेको अनुमान गर्न सकिन्छ। आधारभूत वस्तुमा हुने मूल्यवृद्धिको चर्को मार न्यून आय भएका र आम्दानीको अधिकांश हिस्सामा खानामा खर्च गर्नुपर्ने समूहलाई पर्छ।
राष्ट्र ब्यांकले गत वर्षको तुलनामा मंसीरमा यातायात सेवाको मूल्य २.४८ प्रतिशतले घटेको जनाएको छ। तर मनोरञ्जन तथा संस्कृतिको मूल्य १२.८४ प्रतिशत, शिक्षाको मूल्य ८.९२ प्रतिशत, फर्निशिङ तथा घरायसी उपकरणको मूल्य ५.२४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको मूल्य ४.९६ प्रतिशतले बढेको जनाएको छ।
सबैभन्दा चर्को मूल्यवृद्धि हिमाली क्षेत्रमा छ। मंसीरमा हिमाली क्षेत्रमा मूल्यवृद्धि दर ७.४६ प्रतिशत, पहाड र काठमाडौंमा ५.४२ प्रतिशत मूल्यवृद्धि रहेको तथ्यांक छ। तराईमा भने मूल्यवृद्धि दर ४.२६ प्रतिशत मात्रै रहेको जनाइएको छ।