एउटाले गल्ती गर्दा सबै नेता खराब भन्न मिल्दैन : माधव नेपाल
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एउटा नेता वा पार्टीले गल्ती गर्दा सबै नेता तथा पार्टीलाई खराब भन्न नमिल्ने बताएका छन्।
कैलालीको टीकापुरमा बिहीबार नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले सबैलाई एकै डालोमा हाल्न नमिल्ने बताए। बरु आफूले चुनेर पठाएका जनप्रतिनिधिलाई निगरानी गरिराख्नुपर्नेमा जोड दिए। “कुनै पार्टी र नेताले गल्ती गरेको भन्दैमा सबै नेता खराब, सबै पार्टी गलत भन्न मिल्दैन,” नेपालले भने।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले अहिले मुलुकमा राजतन्त्र फर्काउने भनेर चलिरहेका गतिविधि आत्मसन्तुष्टि मात्रै भएको बताए। “हराइसकेको, बितिसकेको, कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज उठ्न थालेको छ,” उनले सचेत गराउँदै भने, “केही मान्छेले खुट्टा उचालिरहेका छन्। उनीहरूले याद राखून्- राजतन्त्र इतिहास भइसकेको छ, अब त्यो फर्किन सम्भव छैन।”
पार्टी व्यवस्थाभन्दा निर्दलीय, निरंकुश र अधिनायकवादी राजतन्त्र कुनै हिसाबले पनि राम्रो नभएको उनले बताए। “एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउने व्यवस्था काम लाग्दैन,” नेपालले भने, “फेरि दास बनाउने गरी कोही आउन खोज्छ भने त्यो स्वीकार्य हुँदैन।”
अध्यक्ष नेपालले तीनै तहका सरकारले जनताका असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए। “हाम्रा युवा विदेश पलायन भइरहेका छन्। त्यो संख्या कम गर्न रोजगारी सिर्जना गर्नुपर्छ। तीनै तहका सरकारको ध्यान दिनुपर्छ,” नेपालले भने।
त्यस्तै, जनमत पार्टीका अध्यक्ष सीके राउतले अधिकारको नाममा भएको आन्दोलनमा सरकारले विभेद गरेको आरोप लगाए। “हजारौं हजारको घाँटी काट्दा केही हुँदैन, हामीले अधिकार माग्दा जन्मकैद हुन्छ,” राउतले भने।
नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा शुरू भएको पहिलो महाधिवेशन चार दिनसम्म चल्नेछ। महाधिवेशनले नेतृत्व चयन गर्नेछ।