गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गर्ने रास्वपा कार्यकर्ता निलम्बित
बलात्कार मुद्दामा अदालतबाट दोषी ठहरिएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ (परिवर्तित नाम)को भन्दै तस्वीर सार्वजनिक गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक जना कार्यकर्ताको सदस्यता निलम्बन गरेको छ।
रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान, च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई निलम्बन गरेको हो। ‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेकाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं,’ रास्वपाद्वारा बिहीबार जारी सूचनामा भनिएको छ।
रास्वपाका सापकोटाले गौशाला २६ को तस्वीर सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका थिए। उनले अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष समेत गरेको रास्वपाले जनाएको छ।
बलात्कार मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट दोषी ठहरिएका लामिछानेलाई आठ वर्ष कैद सजाय तोकिएको छ। नेपाल क्रिकेट संघले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको छ।