रामबहादुर बम्जन विरुद्ध सर्लाही अदालतमा सुनुवाइ
यौन हिंसाको अभियोगमा पक्राउ परेका धर्मगुरु रामबहादुर बम्जनलाई बिहीबार जिल्ला अदालत, सर्लाहीमा उपस्थित गराइएको छ।
उनी विरुद्ध सर्लाहीबाटै पक्राउ पुर्जी जारी भएकाले काठमाडौंबाट ल्याएर जिल्ला अदालतमा उपस्थित गराइएको हो। जिल्ला अदालतका न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनी विरुद्ध मुद्दाको सुनुवाइ शुरू भएको स्रेस्तेदार सदन अधिकारीले बताए।
यौन शोषणको मुद्दामा जिल्ला अदालतले २०७६ माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बम्जनलाई पुस २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-६, टनगाउँस्थित बम्जनको घरमा तीन करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ भेटिएको थियो। जसमा नेपाली मुद्रा तीन करोड तीन लाख ७५ हजार ५०० रुपैयाँ र विदेशी मुद्रा ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबर रहेको थियो। बम्जनको घरमा १७ देशका मुद्रा भेटिएका थिए।
बम्जन विरुद्ध २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय, मलंगवामा सर्लाहीको २२ वर्षीया युवतीकी आमाले उजुरी दिएकी थिइन्। उनको आश्रममा आनीको रुपमा बसेकी युवतीलाई यौन शोषण गरेको आरोप लागेको थियो।