भीमदत्त नगरपालिकाका प्रवक्ता मृत भेटिए
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्का मृत भेटिएका छन्।
नगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष खड्का भीमदत्त-६, ऐठपुरस्थित सडकमा मृत भेटिएका हुन्। उनको मोटरसाइकल दुर्घटनामा परी गएराति मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।
बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरी उपरीक्षक थापाको भनाइ छ। रातिको समयमा घटना भएको देखिएको उनले बताए।
घटनाका विषयमा भीमदत्त मेयर पदम बोगटी सहित जनप्रतिनिधिलाई जानकारी गराइएको थापाले बताए। “प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको देखिन्छ,” थापाले भने। घटनाको विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ।
वडाध्यक्ष थापा बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी थिए।