अधिकृत नहुँदा खोटाङका दुई इलाका प्रशासन कार्यालयको सेवा बन्द
खोटाङको इलाका प्रशासन कार्यालय, ऐंसेलुखर्क र खोटाङ बजारमा नागरिकताको सिफारिश लगायत सेवा बन्द भएको छ।
गृह मन्त्रालयले शाखा अधिकृत वा कायममुकायम शाखा अधिकृतको व्यवस्था नगर्दा इलाका प्रशासन कार्यालय, ऐंसेलुखर्कको सेवा गत मंसीर १८ गतेदेखि र इलाका प्रशासन कार्यालय, खोटाङ बजारको सेवा पुस २४ गतेदेखि बन्द भएको हो।
अहिले दुवै प्रशासन कार्यालयमा नागरिकता वितरण, दलित जनजाति प्रमाणीकरण एवं सिफारिश, नाबालक परिचयपत्र प्रदान लगायत सेवा रोकिएको छ।
ऐंसेलुखर्कका नायब सुब्बा राजेन्द्र भुर्तेलको कायममुकायम शाखा अधिकृत अवधि मंसीर १७ गते सकिएपछि प्रशासन कार्यालयको दैनिक सेवा प्रभावित भएको हो। गाउँपालिकाका सात वडाका नागरिक मारमा परेको गाउँपालिका अध्यक्ष गिरेन्द्र राई बताउँछन्।
इलाका प्रशासन कार्यालयबाट नागरिकता सिफारिश लगायत सेवा रोकिएपछि प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले ऐंसेलुखर्क पुगेर पुस ४ र ५ गते सेवा दिएका थिए। नासु भुर्तेलको कायममुकायम अवधि सकिएकै दिन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई कायममुकायम अवधि सकिएको जानकारी पनि गराएको थियो। त्यस्तै, अधिकृतको व्यवस्था गर्न वा कायममुकायम नियुक्त गरिदिनका लागि पुस १६ गते पनि मन्त्रालयलाई पत्राचार गरेको थियो। तर हालसम्म पत्रको सुनुवाइ भएको छैन।
यस्तै, गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय, खोटाङ बजारमा कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई ६ महीनाका लागि दिएको कायममुकायम अवधि सकिएपछि नागरिकता वितरण लगायत अत्यावश्यक सेवा रोकिएको नासु लक्ष्मी ढकालले बताए।
शाखा अधिकृत नहुँदा गत असार २६ गतेदेखि इलाका प्रशासन कार्यालयको सेवा रोकिएको थियो। मन्त्रालयले बढीमा ६ महीनाका लागि नासु राईलाई कायममुकायम मुकर्रर गरेर पत्र पठाएपछि साउन २२ गतेदेखि नागरिकता वितरण लगायत सेवा शुरू गराइएको थियो। सो कायममुकायम अवधि पुस २० गते सकिएको नासु ढकालले बताए।
कार्यक्रमका सिलसिलामा खोटाङ बजार पुगेका प्रमुख जिल्ला अधिकारी सुनारले पुस २१ र २२ गते नागरिकता जारी गरेका थिए।
खोटेहाङ गाउँपालिका-७, खोटाङ बजारमा रहेको इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही मारमा छन्।
पुस २४ गते इलाका प्रशासन कार्यालय पुगेका २२ जना सेवाग्राही काम नगरी फर्कनुपरेको कांग्रेस जन्तेढुंगा गाउँपालिका समिति सभापति बाजिन्द्र विष्टले बताए। मन्त्रालयले इलाका प्रशासन कार्यालयमा जिम्मेवार कर्मचारीको व्यवस्था नगर्दा अत्यावश्यक कामका लागि सेवाग्राही जिल्ला प्रशासन कार्यालय दिक्तेल पुग्नुपर्ने बाध्यता छ।