पूर्व डीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैद सजाय
भ्रष्टाचार मुद्दामा पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाह सहित दुई जनालाई जनही तीन वर्ष कैद सजाय सुनाइएको छ।
विशेष अदालत, काठमाडौंका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बुधबार शाह र दीपेन्द्रप्रसाद पनेरूलाई तीन-तीन वर्ष कैद सजाय सुनाएको हो। त्यस्तै, दुवै जनालाई जनही १६ लाख ६९ हजार ४२ रुपैयाँ ४४ पैसा जरिवाना गरिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।
मध्यक्षेत्रीय प्रहरी तालीम केन्द्र, भरतपुरमा छँदा १०३ जना प्रहरी जवान र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवान (नयाँ भर्ना भएका)हरूको ३३ लाख ३८ हजार ८४ रुपैयाँ तलबभत्ता हिनामिना गरेको अभियोग लगाइएको थियो। २०७२ वैशाख २७ गते भर्ना भएका प्रहरी जवानले सोही वर्षको पुस २२ गते भरतपुरबाट तालीम सकाएका थिए। तालीम सकाएपछि उनीहरूको अन्यत्र सरुवा भएको थियो।
तर शाहले उनीहरूको सरुवा भएपछि समेत माघ र फागुन महीनाको तलबभत्ता खर्चमा जनाएर भ्रष्टाचार गरेको पाइएको हो। यसका साथै शाहले १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको दुई दिनको तलबभत्ता अपचलन गरेको पनि पाइएको हो।
शाह सहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ सालमा मुद्दा दायर गरेको थियो। शाह र पनेरू दोषी ठहर भए पनि सहायक हवल्दार केशवसिंह ऐरी र कोष तथा लेखा नियन्त्रक सञ्जीव विशंखेले सफाइ पाएका थिए।
शाह साहित्यकार समेत हुन्। छापामारको छोरो, ज्याक्सन हाइट, सिपाहीकी स्वास्नी, काठमान्डुमा कामरेड लगायत उनका कृति प्रकाशित छन्। छापामारको छोरोका लागि उनले २०६३ सालको मदन पुरस्कार समेत पाएका थिए।