भरतपुरमा रंगशाला निर्माणको अनुमतिसँगै यस्ता छन् मन्त्रिपरिषद्का २७ निर्णय
भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि अनुमति दिने सहित सरकारले २७ वटा निर्णय गरेको छ।
मन्त्रिपरिषद्को पुस २४ गतेको बैठकले गरेका निर्णय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुधबार सार्वजनिक गरेकी छन्। मन्त्रिपरिषद्को नियमित बैठकले आवश्यक २७ वटा निर्णय गरेको शर्माले बताइन्।
सरकारले भरतपुर महानगरपालिका–१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न भरतपुर महानगरलाई सहमति प्रदान गरेको छ। बागमती प्रदेश सरकारसँगको साझेदारीमा भरतपुर महानगरले रंगशाला निर्माण अघि बढाउने भएको छ।
यसअघि धुर्मुस सुन्तली फाउन्डेशनले रंगशाला निर्माणको शुरूआत गरेको थियो। आर्थिक स्रोत जुट्न नसकेपछि भरतपुर महानगरलाई हस्तान्तरण गरेको थियो। यसअघि हिमालखबरसँगको कुराकानीमा भरतपुर महानगरकी मेयर रेनु दाहालले सरकारले अनुमति दिएसँगै निर्माण कार्य शुरू गर्ने तयारी भइरहेको बताएकी थिइन्।
त्यस्तै, मन्त्रिपरिषद्ले एनसेलको शेयर खरीदबिक्री प्रकरणबारे छानबिन गर्न गठित समितिको म्याद १५ दिन थपेको छ। सरकारले मंसीर २१ मा छानबिन समिति गठन गरेको थियो।
यसैगरी, व्यवसायी र नेपाल विद्युत् प्राधिकरणबीच चलिरहेको महसूल सम्बन्धी विवाद समाधान गर्न छानबिन समिति गठन गरेको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो।
समितिले प्रतिवेदन नबुझाउँदासम्म उद्योगमा काटिएको बिजुलीको लाइन जडान गर्न प्राधिकरणलाई निर्देशन दिएको छ। डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसूल नबुझाएको भन्दै प्राधिकरणले २७ वटा उद्योगको लाइन काटेको थियो।