क्यान अध्यक्ष भन्छन्- सन्दीपका विषयमा के गर्ने भनेर धारणा बनाउँदै छौं
बलात्कार मुद्दामा आठ वर्ष कैद सजाय पाएका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेका विषयमा के गर्ने भनेर छलफलकै क्रममा रहेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले प्रतिक्रिया दिएका छन्।
जिल्ला अदालत, काठमाडौंले बुधबार लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ। यससँगै न्यायाधीश शिशिरराज ढकालको इजलासले तीन लाख जरिवाना र दुई लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ।
बलात्कारको मुद्दामा दोषी ठहर भए पनि क्यानले लामिछानेलाई राष्ट्रिय टोलीबाट हटाएको छैन। अब क्यानले के गर्छ भन्ने प्रश्नको जवाफमा अध्यक्ष चन्दले छलफलकै क्रममा रहेको प्रतिक्रिया दिएका हुन्।
“तत्काल क्यानको बैठक बस्ने कि नबस्ने भनेर पदाधिकारी र सदस्यहरूसँग फोनमा कुराकानी गरिरहेका छौं,” अध्यक्ष चन्दले हिमालखबरसँग भने, “छलफलपछि सन्दीपका विषयमा के गर्ने भनेर धारणा बनाउँछौं।”
यसअघि क्यानका सचिव पारस खड्काले सजाय निर्धारणपछि निर्णय गरिने बताएका थिए। क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक गर्न पुस १९ गते आयोजित पत्रकार सम्मेलनमा खड्काले सन्दीपका वकीलसँग समन्वय भइरहेको खुलाएका थिए।
“सन्दीपका वकीलसँग क्यानका कानूनी सल्लाहकारले कुराकानी गरिरहनुभएको छ,” खड्काले भनेका थिए, “हाम्रो वकीलको भनाइ र उहाँ (सन्दीप)का वकीलको सल्लाहमा पुस २५ गतेपछि मात्रै सन्दीपको भविष्यलाई लिएर निर्णय गर्नेछौं।”
अदालतले सजाय निर्धारण गरेपछि क्यान अध्यक्ष चन्दले धारणा बनाउने क्रममै रहेको जनाएका हुन्। क्यानले गर्ने निर्णयका आधारमा लामिछानेले क्रिकेट खेल्न पाउने वा नपाउने तय हुनेछ।