सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा आठ वर्ष कैद
क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा आठ वर्ष कैद सजाय सुनाइएको छ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको हो। जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले आठ वर्ष कैदसँगै जरिवाना पनि गरिएको बताए।
लामिछानेले पाँच लाख रुपैयाँ पनि तिर्नुपर्ने भएको छ। जसमा तीन लाख रुपैयाँ जरिवाना गरिएको छ। त्यो जरिवानसँगै थप दुई लाख रुपैयाँ पीडितलाई दिनुपर्ने अदालतकाे फैसला छ।
अदालतको आदेशमा भनिएको छ, ‘पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना तीन लाख रुपैयाँ र थप दुई लाख रुपैयाँ रकम क्षतिपूर्ति वापत प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ (छ) (०७९/०८०) लाई भराइ दिने ठहर्छ।’
यसअघि पुस १३ गते जिल्ला अदालतले उनलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सजाय निर्धारणका लागि आज पेशी तोकिएको थियो।
२०७९ भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै पीडितले गौशाला प्रहरी वृत्तमा भदौ २१ मा किटानी जाहेरी दिएकी थिइन्। जाहेरी पर्दा लामिछाने क्रिकेट खेल्न अफ्रिकी मुलुक गएका थिए। जाहेरी परेको सार्वजनिक भएपछि उनी नेपाली टोलीसँग नफर्की अमेरिका भागेका थिए।
इन्टरपोल मार्फत पक्राउ पर्ने सूचना पाएपछि उनी असोज २० गते नेपाल फर्किएका थिए। उनी विरुद्ध कात्तिक १४ गते जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत, पाटनले उनलाई छोडिदिएको थियो। उच्चको आदेशलाई सर्वोच्चले समेत सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका थिए।
मुद्दा दर्ता भएको झन्डै डेढ वर्षपछि पुस १३ मा अदालतको फैसला आएको हो। युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालत, काठमाडौंले ठहर गरेको छ।
उनलाई मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा १, २ र ३ को ‘ङ’ अनुसार कसूरदार ठहर्याइएको हो। पीडित महिलाको उमेर १८ वर्ष वा सोभन्दा बढी उमेरको भएमा सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ। साेही आधारमा जिल्ला अदालतले लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको हो।