यस्ता छन् बम्जनको घरबाट बरामद सामग्री
विवादित धर्मगुरु रामबहादुर बम्जनसँगै उनको घरबाट बरामद गरिएका विभिन्न सामग्री र नगद रकम प्रहरीले बुधबार सार्वजनिक गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पुस २४ गते साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-६, टनगाउँबाट बम्जनलाई पक्राउ गरेको थियो। घरको चौथो तलमा बस्दै आएका बम्जन प्रहरी आएको थाहा पाएपछि झ्यालबाट हाम फालेको सीआईबीका प्रवक्ता नवराज अधिकारीले बताए। भाग्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो।
त्यसपछि उनको घरमा खानतलास गर्दा तीन करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ भेटिएको छ। जसमा नेपाली मुद्रा तीन करोड तीन लाख ७५ हजार ५०० रुपैयाँ र विदेशी मुद्रा ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबर रहेको प्रवक्ता अधिकारीले बताए। बम्जनको घरमा १७ देशका मुद्रा भेटिएका हुन्।
त्यस्तै, विभिन्न ब्रान्डका १४ वटा मोबाइल, २० वटा पेनड्राइभ, विभिन्न ब्रान्डका पाँच वटा आइप्याड र दुई ल्यापटप बरामद गरिएका छन्। यससँगै मोटरसाइकलका तीन वटा ब्लूबूक, टोयाटा हाइ-लक्स गाडीको चाबी, भ्वाइस रेकर्डर र दुई वटा मेमोरी कार्ड भेटिएको सीआईबीले जानकारी दिएको छ।
यससँगै बम्जनले प्रदेश-३-१ ०२४ च ६७२९ नम्बरको टोयाटा फर्चुनर गाडी चढ्ने गरेको पाइएको छ। यस्तै, ल्यान्ड क्रूजर जेडएक्स गाडी खरीद गर्न लागेको पनि पाइएको छ। यो गाडी पाँच करोडमा बूकिङ भएको र तीन करोड रुपैयाँ बुझाएको पाइएको सीआईबीको अनुसन्धानमा खुलेको प्रवक्ता अधिकारीले बताए।
बम्जनले चार वटा मोटरसाइकल प्रयोग गरेको पनि पाइएको छ। जसमा क्रसफायर बाइक, ३९० सीसी केटीएम ड्यूक र यामाहा रे जेडआर स्कूटर लगायत छन्।
उनी विरुद्ध २०७६ सालमा प्रहरीमा उजुरी परेको थियो। बाराको हलखोरियास्थित बम्जनको आश्रममा बस्दै आएकी २२ वर्षीया आनीले २०७१ सालमा आफूमाथि यौनशोषण गरेको भन्दै उजुरी दिएकी थिइन्।
त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न २०७६ माघ २३ मा जिल्ला अदालत, सर्लाहीबाट अनुमति लिएको थियो। त्यति वेला उनी चाहिं फरार थिए।
उनी काठमाडौंमा रहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, सर्लाहीले सीआईबीलाई पक्राउ गर्न पत्राचार गरेको थियो। त्यसका आधारमा सीआईबीको टोलीले पुस २४ मा बम्जनलाई पक्राउ गरेको हो।