नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत, अर्को वर्ष सुधार हुने आकलन
बहुपक्षीय विकास साझेदार विश्व ब्यांकले यो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरेको छ।
ब्यांकले मंगलबार ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदन सार्वजनिक गर्दै आगामी वर्ष नेपालको आर्थिक वृद्धिदरले गति लिने अनुमान गरेको हो। ब्यांकले आगामी आर्थिक वर्ष २०८१/८२ नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।
मौद्रिक नीतिमा गरिएको लचिलोपन तथा आयात नियन्त्रण हटेका कारण आर्थिक वृद्धिदर बढ्ने ब्यांकले बताएको छ। ब्यांकले विश्वव्यापी आर्थिक परिदृश्य सुखद नरहेको पनि औंल्याएको छ।
सन् २०२४ मा पनि वैश्विक अर्थतन्त्रको विस्तार सुस्त हुने ब्यांकको आकलन छ। सन् २०२४ मा विश्वको अर्थतन्त्र २.४ प्रतिशतले मात्रै बढ्ने अनुमान छ। सन् २०२३ मा वैश्विक अर्थतन्त्र २.६ प्रतिशतले बढेको अनुमान छ।
ब्यांकले सन् २०२३ मा दक्षिण एशियाको अर्थतन्त्र ५.७ प्रतिशतले बढेको बताएको छ। त्यसैगरी, सन् २०२४ मा दक्षिणएशियाको अर्थतन्त्र ५.६ प्रतिशतले बढ्ने अनुमान छ। भारतको वृद्धिदर सकारात्मक रहेकाले दक्षिणएशियाको अर्थतन्त्रको आँकडा तुलनात्मक राम्रो देखिएको हो।
सन् २०२३/२४ मा ६.३ प्रतिशतले वृद्धि भएको भारतको अर्थतन्त्र आगामी वर्ष ६.४ प्रतिशतले बढ्ने अनुमान छ।