केएमसीले फिर्ता लियो डा. विशद दाहालको निलम्बन
काठमाडौं मेडिकल कलेज (केएमसी)ले डा. विशद दाहालको निलम्बन फिर्ता लिएको छ।
आज आवासीय चिकित्सक, कलेज प्रशासन र काठमाडौं विश्वविद्यालयका प्रतिनिधिबीच भएको त्रिपक्षीय वार्तामा डा. दाहालको निलम्बन फिर्ता लिने सहमति भएको हो। सहमति अनुसार काठमाडौं विश्वविद्यालयको कार्यविधि नबनुन्जेल आवासीय चिकित्सकहरू पूर्व निर्धारित स्वास्थ्य शिविरमा सहभागी हुने भएका छन्।
कार्यविधि बनाउन केयू स्कूल अफ मेडिकल साइन्सेजका एशोसिएट डीन डा. दीपक कुँवरको संयोजकत्वमा तीन सदस्यीय समिति बन्ने भएको छ। जसमा प्रा.डा. जगदीश चटौत र निजी मेडिकल कलेज तथा डेन्टल एशोसिएशनका एक जना प्रतिनिधि रहनेछन्। समितिलाई १५ दिनको म्याद दिइएको छ।
केएमसीका सञ्चालक सुनिल शर्माले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न आवासीय चिकित्सकलाई पाठ्यक्रममै नभएको स्वास्थ्य शिविरमा खटाएको भन्दै विरोध गरेका कारण डा. विशद दाहाल एक महीना निलम्बनमा परेका थिए। उनको निलम्बन तत्काल स्थगन गर्न भन्दै यसअघि काठमाडौं विश्वविद्यालयले कलेजलाई पत्र पठाएको थियो भने मंगलबार शिक्षामन्त्रीले नै निलम्बन फिर्ता लिन निर्देशन दिएका थिए।