भिमाद दुर्घटनामा घाइते दुई यात्रुको मृत्यु
तनहुँको भिमाद नगरपालिकामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जीप भिमाद नगरपालिकाको सुनाकोटमा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र लगिएको थियो। अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा १० जना घाइते छन्। उनीहरूको उपचार चलिरहेको छ।