नारायणगढ-मुग्लिन सडक फेरि तीन साता दिउँसो बन्द गरिने
नारायणगढ-मुग्लिन सडकखण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ।
सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो। यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिंदै आएको छ।
पुस २८ गते तीन साताको समय सकिंदै छ। चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले थप एक महीनाको समय माग गरेको भए पनि तीन साताका लागि मात्र सडक बन्द गरेर काम गर्न दिन लागिएको बताए। प्रमुख जिल्ला अधिकारी थापाका अनुसार बिहीबार सुरक्षा समितिको बैठक बसी थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिन लागिएको छ।
ढिस्को विस्फोट गरेर भत्काउने तयारी गरिएको थियो। विस्फोट गर्दा त्यहाँ पुल समेत जोखिममा पर्ने भएकाले अन्तिम प्रयासका रूपमा भत्काउन आग्रह गरे अनुरूप काम भइरहेको उनले बताए। “अत्यावश्यक सवारी साधन छाड्नुपर्ने हुँदा दिनमा चार घण्टा भनिए पनि दुई-तीन घण्टा राम्रो गरी काम भएको छ,” उनले भने।
नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यका अनुसार हालसम्म १४ मिटर ढिस्को भत्काइसकिएको छ। त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो। गत साल २५ मिटर तल झारिएको थियो। बाँकी ३५ मिटरमध्ये आधा ढिस्को शनिबारसम्म भत्काइसक्ने अनुमान छ।
गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो। यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन शुरू गरेपछि कामले गति लिएको उनले जानकारी दिए। आवश्यक ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्प्लिटर र हाइड्रोलिक ज्याक ह्याम्मर प्रयोग गरिएको छ। गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएको थियो।
गत वर्ष भत्काउने क्रममा शुरूमा १५ मिटर सहजै भत्काउन सकिएको थियो। त्यसपछिको १० मिटर भत्काउन ४५ दिन लागेको उनले जानकारी दिए। सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएका थिए। बाँकी १५ पुलको एकैसाथ ठेक्का लगाइएको थियो।
२०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो। पुलको लागत रु.एक अर्ब २८ करोड छ। अनक कन्स्ट्रक्सनले पुलको ठेक्का पाएको थियो। यो राजमार्गलाई एशियाली विकास ब्यांकको सहयोगमा एशियन मापदण्ड अनुसार बनाइएको हो।
पुलहरू ११ मिटर चौडा छन्। सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ। राजधानी बाहिरिने र भित्रिने यो प्रमुख सडक हो। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्। -रासस