भूकम्प प्रभावित क्षेत्रका एक लाख ४० हजार जनालाई दादुरा विरुद्धको खोप
भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुरा, रुबेला र टाइफाइड विरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४० हजार ८९१ जनाले खोप लगाएका छन्।
पुस ४ देखि १४ गतेसम्म सञ्चालन गरिएको खोप अभियान अन्तर्गत ६ महीनादेखि १५ वर्षसम्मका ६८ हजार ३४४ बालबालिकाले दादुरा-रुबेला विरुद्को खोप लगाएका छन्। त्यस्तै, १६ देखि ४५ वर्षसम्मका ७२ हजार ५४७ जनाले टाइफाइड विरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका कोल्डचेन सुपरभाइजर शान्तबहादुर बुढाथोकीले बताए।
दादुरा-रुबेला विरुद्धको खोप ९९ प्रतिशतलाई र टाइफाइड विरुद्धको खोप ८८ प्रतिशतलाई लगाइएको छ। जिल्लाका ४८० खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिएको थियो। आपत्कालीन अवस्थामा श्वासप्रश्वास, दूषित पिउने पानी र विभिन्न खानेकुराबाट सर्ने रोग फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम लगायत आसपासका सुर्खेत, सल्यान, दैलेख, कालिकोट र जुम्ला जिल्लामा दादुरा-रुबेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको हो।
सामान्य अवस्थामा दादुरा फैलिएमा मृत्युदर एक प्रतिशत रहने तर विपद्का वेला फैलिए ३० प्रतिशतसम्म रहने भएकाले पनि खोप अभियान सञ्चालन गरिएको उनको भनाइ छ। राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भूकम्प प्रभावित र आसपासका जिल्लामा दादुरा-रुबेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको उनले बताए।
हरेक पाँच-पाँच वर्षमा दादुरा-रुबेला विरुद्धको खोप अभियान सञ्चालन भइरहेको स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए। सरकारले भूकम्प प्रभावित र आसपासका जिल्लामा पाँच वर्ष नपुग्दै दादुरा-रुबेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको गौतमले बताए।
दादुरा-रुबेला, टाइफाइड जस्ता समस्या फैलिन नदिन निश्चित गरिएका उमेर समूहका ९५ प्रतिशतले खोप लगाएको हुनुपर्ने डा. गौतमको भनाइ छ। स्वास्थ्य सेवा कार्यालयका अनुसार ६ महीनादेखि १५ वर्षसम्मका एक लाख ५० हजार र १६ वर्षदेखि ४५ वर्षसम्मको लक्षित जनसंख्या ६ लाख ५० हजार छ।
जाजरकोटमा मात्र ६ महीनादेखि १५ वर्षसम्मका ६८ हजार ९१९ जना र १६ वर्षदेखि ४५ वर्षसम्मका ८६ हजार ६३६ जना छन्।