रामबहादुर बम्जनको विवादित विगत
आफूलाई तपस्वी भनेर चिनाउने विवादित धर्मगुरु रामबहादुर बम्जन पक्राउ परेका छन्।
बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आज काठमाडौंबाट पक्राउ गरेको हो। नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक तथा सीआईबी प्रमुख किरण बज्राचार्यले बम्जन पक्राउ परेको हिमालखबरलाई बताइन्।
एक जना अनुयायीको हत्या, व्यक्ति बेपत्ता तथा जबर्जस्ती करणी मुद्दामा प्रहरीको सर्वाधिक खोजीमा रहेका बम्जनलाई पक्रन प्रहरीले यसअघि पटक पटक प्रयास गरे पनि असफल भएको थियो। आफ्नै आश्रमकी नाबालिका अनुयायीलाई बलात्कार गरेको जाहेरी परेपछि उनी प्रहरीको सर्वाधिक खोजी सूचीमा थिए।
विवादित पृष्ठभूमि
बम्जन २०६२ जेठदेखि पाँच वर्ष निराहार तपस्या गर्ने भन्दै बाराको जंगलमा बसेका थिए। तर ध्यान शुरू गरेसँगै उनी विवादमा तानिए। २०६७ साउनमा हलखोरिया जंगलमा च्याउ टिप्न गएका बारा, मनहर्वाका १७ सर्वसाधारणलाई नियन्त्रणमा लिई बम्जन र उनका अनुयायीले कुटपिट गरेपछि विवादको आकार बढ्दै गएको थियो।
सर्वसाधारणलाई हातपात गर्ने र बन्धक बनाउने उनको शृंखला रोकिएन। २०७१ भदौमा निजगढका युवाद्वय उत्तिम गुरो र सोनम कुमरलाई पनि उनीहरूले मादकपदार्थ सेवन गरी जथाभावी बोलेको आरोपमा रातभर चारकोसे हलखोरिया जंगलमा बाँधेर राखेका थिए।
त्यसरी बन्धक बनाएको थाहा पाएर पुगेका स्थानीयवासी र बम्जनका अनुयायीबीच झडप हुँदा बम्जनका चालक रूपबहादुर थिङ र अनुयायी लमजुङका समीर गुरुङ र नागराज नामका एक बालक घाइते भएका थिए। यसपछि बन्धक बनाइएका युवकहरूलाई बम्जन समूहले छाडेको थियो।
बोधी श्रवण धर्म संघ र नमो तपोवन संरक्षण तथा संवर्द्धन समितिका स्वयंसेवी र पदाधिकारीले बम्जनको सुरक्षा दिने गरेका थिए। संघकै पदाधिकारीले बोक्सीको आरोपमा २०६९ मा स्लोभाकियाकी नागरिक मारिची भनिने टाकाक सुसाना र सिन्धुपाल्चोककी एक आनीलाई तीन महीना बन्धक बनाएर पैसा असुलेपछि प्रहरीले उद्धार गरेको थियो। प्रहरीले त्यस वेला धार्मिक कुरा भन्दै बम्जन र उनका अनुयायीमाथि कुनै कारबाही गरेन।
बम्जनले नागरिकता नबनाइदिएको भन्दै आफ्ना दाजु गंगा र दिदी राजकुमारीलाई समेत कुटपिट गरेको र गाउँकै अर्का एक जनालाई तरबारले हानेर घाइते बनाएका थिए। बम्जन कुटपिट र लूटपाटमा मात्रै सीमित थिएनन्। उनले आफ्नो नाम फेरेर धर्म संघ बम्जनको नाममा नागरिकता र राहदानी लिने प्रयास गरेका थिए। तर जिल्ला प्रशासन कार्यालय, बाराले अस्वीकार गरेपछि आफ्ना अनुयायीहरूलाई सडकमा उतारेका थिए।
राष्ट्रिय वन अतिक्रमण गरी गैरकानूनी रूपमा भवन बनाएर शंकास्पद गतिविधि गरेको भन्दै प्रशासनले उनलाई नागरिकता दिन अस्वीकार गरेको थियो। बम्जनले चारकोसे वनको ५०० हेक्टरभन्दा बढी वन क्षेत्र काँडेतारले घेरेर नियन्त्रणमा लिएका थिए। जिल्ला वन कार्यालय र प्रशासनले बम्जनलाई वन प्रवेशमा रोक लगाएपछि पुनरावेदन अदालत, हेटौंडाले २०७१ जेठमा अन्तिम फैसला नहुन्जेल ध्यानबाट विस्थापित नगराउनू भन्ने आदेश दिएको थियो। त्यसपछि उनी पुनः हलखोरियामा बस्न थालेका थिए।
२०७० जेठमा हलखोरिया राष्ट्रिय वन भएको र त्यो महत्त्वपूर्ण जैविक वासस्थान भएकाले उक्त ठाउँमा कुनै पनि निर्माण र उपभोग गर्न नदिनू भन्ने सचिवस्तरीय निर्णय समेत भएको थियो। तपस्यास्थलको वनलाई ‘धार्मिक वन’ घोषणा गर्न माग गर्दै बम्जनका अनुयायी आन्दोलित भएका थिए।
स्थानीयमाथि लगातार कुटपिट तथा सरकारी वनमा गुम्बा र स्तूप निर्माण हुन थालेपछि उक्त क्षेत्रलाई शंकास्पद भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदा बम्जन सिन्धुली पुगेका थिए। जंगल अतिक्रमण गरी बनाइएका पक्की गुम्बा र स्तूप डोजर लगाएर भत्काइएका थिए।
बम्जनको समितिमा रहेका आफ्नै दाजु र निकटका व्यक्तिहरूका नाममा राष्ट्रिय वाणिज्य ब्यांक, निजगढ शाखामा निक्षेप गरिएको सात लाख रुपैयाँ समेत सरकारी ढुकुटीमा दाखिला गरिएको थियो।