राप्रपाका विष्ट कोशीको सभामुखमा सर्वसम्मत
कोशी प्रदेश सभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट सर्वसम्मत चयन भएका छन्।
प्रदेश सभाको मंगलबार बसेको बैठकमा विष्टको मात्रै उम्मेदवारी परेपछि उपसभामुख सिर्जना दनुवारले सर्वसम्मत सभामुख चयन भएको घोषणा गरेकी हुन्। झापा, गौरादह स्थायी घर भएका विष्ट राप्रपाका समानुपातिक सांसद हुन्।
कोशीमा राप्रपा चौथो ठूलो दल हो। प्रदेश सभामा नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी एक सांसद छन्।
यसअघिका सभामुख बाबुराम गौतमले गत साउनमा पदबाट राजीनामा दिएका थिए।