डा. विशद दाहालको निलम्बन फिर्ता लिन शिक्षामन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजद्वारा निलम्बित आवासीय चिकित्सक विशद दाहालको निलम्बन तत्काल फिर्ता लिन निर्देशन दिएका छन्।
मंगलबार काठमाडौं विश्वविद्यालयका उपकुलपतिलाई एक पत्र मार्फत मन्त्री राईले यस्तो निर्देशन दिएका हुन्। पत्रमा चिकित्सा शिक्षा आयोगबाट उल्लिखित नीतिगत सुधारका मापदण्ड अनुसार र काठमाडौं विश्वविद्यालयबाट स्वास्थ्य शिविर र स्थलगत अध्ययन सम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्रै विद्यार्थीलाई स्वास्थ्य शिविरमा खटाउन उनले निर्देशन दिएका छन्।
पत्रमा भनिएको छ, ‘चिकित्सा शिक्षा आयोगबाट उल्लिखित नीतिगत सुधारका मापदण्ड र काठमाडौं विश्वविद्यालयबाट हेल्थ क्याम्प र फील्ड भिजिट सम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र स्वास्थ्य शिविरमा विद्यार्थीहरूलाई खटाउने कार्य गर्नु गराउनुहुन र निलम्बित विद्यार्थी डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा स्वस्थ शैक्षिक वातावरण तयार गर्न गराउन काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा १३क. उपदफा (३) बमोजिम निर्देशन दिएको छु।’
काठमाडौं मेडिकल कलेजका सञ्चालकले आफूहरूलाई पाठ्यक्रममै नभएको स्वास्थ्य शिविरमा लैजाने गरेको भन्दै विरोध गरेपछि चिकित्सक दाहाललाई कलेजले निलम्बन गरेको थियो। उनको निलम्बन तत्काल स्थगन गर्न भन्दै यसअघि काठमाडौं विश्वविद्यालयले कलेजलाई पत्र पठाएको पनि थियो तर कलेजले उक्त निर्देशन पनि अवज्ञा गरेको थियो।