गत वर्ष १६ लाख नेपाली विदेश पुगे, ७१ हजारले सधैंका लागि छोडे देश
गत वर्ष १६ लाखभन्दा बढी नेपाली विदेश भ्रमणमा गएको अध्यागमन विभागले जनाएको छ।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, तालीम, गोष्ठी आदि कामका लागि सन् २०२३ मा १६ लाख तीन हजार ८३६ नेपाली विदेश पुगेका हुन्। विदेश गएकामध्ये करीब ७१ हजारले स्थायी रूपमै विदेश बस्ने गरी सधैंका लागि देश छोडेको अध्यागमन विभागले जनाएको छ। त्यसै गरी ९२ हजार ३४९ जना अस्थायी रूपमा विदेश बसोबासका लागि गएका छन्।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालबाट बाहिरिएका नेपालीमध्ये आधाभन्दा धेरै वैदेशिक रोजगारीका लागि गएका छन्। वैदेशिक कामकाजका लागि आठ लाख आठ हजार ४१५ नेपाली संसारका विभिन्न मुलुक पुगेका छन्। यीमध्ये ८४ हजार ६०४ जना महिला छन्।
त्यसै गरी भ्रमण/तीर्थाटनका लागि दुई लाख चार हजार ५१८ जना विदेश पुगेका छन्। पारिवारिक मिलापका लागि एक लाख ६७ हजार, अध्ययनका लागि एक लाख आठ हजार, तालीम/सेमिनारका लागि २४ हजार नेपाली विदेश पुगे।
श्रीमान् वा श्रीमतीसँगै आश्रित रूपमा विदेश जानेको संख्या २० हजार ६०० छ। त्यसै गरी उपचारका लागि १९ हजार ५०९, व्यापारका लागि करीब १९ हजार, सरकारी औपचारिक भ्रमणमा करीब १६ हजार जना विदेश पुगे।
विभागका अनुसार गत वर्ष विदेश जानेमध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन्। गत वर्ष दुई लाख ७१ हजार नेपाली यूएई पुगे। त्यस्तै, एक लाख ८० हजार नेपाली भारत, एक लाख ७९ हजार कतार र एक लाख ६५ हजार मलेशिया पुगे।
यसै गरी एक लाख पाँच हजार नेपाली अस्ट्रेलिया, करीब ८३ हजार जापान, करीब ६८ हजार संयुक्त राज्य अमेरिका र करीब ५३ हजार नेपाली बेलायत पुगेको पनि विभागको तथ्यांक छ।