बाक्लो हुस्सुमा एकअर्कालाई नदेख्दा दुर्घटना, दुई जनाको मृत्यु
महोत्तरीको जलेश्वर-बर्दिबास सडकखण्डमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।
गएराति जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको ज११प ८०९९ नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको प्र२-०२-००४प १८४० नम्बरको मोटरसाइकलसँग औरही नगरपालिका-१ स्थित वडा कार्यालय नजिकै ठक्कर खाँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
दुर्घटनापश्चात् गम्भीर घाइते चालकद्वयलाई उपचारका लागि शुभस्वस्तिक अस्पताल लगिएकामा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो। मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही बिर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका-३ का ३२ वर्षीय धर्मेन्द्र महतो रहेका प्रनाउ गिरीले बताए।
दुर्घटनामा दुवै मोटरसाइकलको पछाडि सवार भंगहा-५ का ३१ वर्षीय श्रीराम गोसाईं र बर्दिबास नगरपालिका प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते छन्। बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उनीहरूको उपचार भइरहको छ।
बाक्लो हुस्सुका कारण तीव्र गतिमा रहेका दुवै मोटरसाइकलका चालकले एकअर्कालाई नदेखेको र अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। -रासस