कुख्यात लागूऔषध कारोबारी देवेन्द्र छपालीलाई चौथो पटक कैद सजाय
विशेष अदालत, काठमाडौंले कुख्यात लागूऔषध कारोबारी देवेन्द्र रोका छपालीलाई दुई वर्ष कैद र डेढ करोड रुपैयाँ जरिवानाको फैसला गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय तोकेको हो। यसअघि पुस १६ गते विशेष अदालतले छपालीलाई दोषी ठहर गरेको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७७ असोजमा धादिङका छपालीले लागूऔषध कारोबारबाट अवैध सम्पत्ति कमाएको भन्दै मुद्दा दायर गरेको थियो। छपालीको ७४ लाख ५९ हजार ९८४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको विशेष अदालतले ठहर गर्दै त्यसको दोब्बर जरिवाना तोकेको हो।
छपालीको खातामा रहेको ६४ लाख ६६ हजार ७८४ रुपैयाँ समेत जफत हुने फैसला गरेको छ। अवैध कमाइबाट जोडेको एउटा गाडी तथा थानकोट र सीतापाइलामा रहेको जग्गा समेत जफत हुनेछ।
छपालीलाई २०६९ वैशाखमा प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले १३६ किलो चरेस सहित पक्राउ गरेको थियो। लागूऔषध ओसारपसारको शुरूआती चरणमै पक्राउ परेर सजाय पाउने कुख्यात कारोबारी हुन्, छपाली। तर त्यसपछिका साढे तीन दशक चरेस र हिरोइनको कारोबार फैलाए।
२०६९ सालमा तेस्रो पटक पक्राउ पर्दा सीतापाइलास्थित निवासमा चरेस प्याकिङ गर्ने कारखाना नै खोलेको खुलेको थियो। राजधानीमै चरेस कारखाना खोलेका छपाली नेपालका ठूला आपूर्तिकर्ता मानिन्छन्।
उनको हङकङस्थित हङकङ ब्यांक र जापानको ब्यांक अफ योकोहोमामा खाता रहेको फेला परेको थियो। चीन, थाइल्यान्ड, जापान, क्यानडा, यूरोपेली मुलुकमा कारोबार फैलाएको प्रहरी अनुसन्धानमा देखिएको थियो।
२०३३ सालमा नेपालमा गाँजा र चरेस कारोबारमा प्रतिबन्ध लागेको थियो। छपाली भने त्यसलगत्तै सक्रिय भएका हुन्। उनी त्यति वेला देवेन्द्रबहादुर नेपालीका नाममा कारोबार चलाउँथे।
उनलाई २०३९ सालमा ६ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना फैसला भएको थियो। पुनरावेदनबाट कैद सजाय घटेपछि छुटेका छपालीको धन्दा त्यसपछि पनि रोकिएन। बरु विश्वबजारमा अझ महँगोमा बिक्री हुने खैरो हिरोइनको कारोबारतिर फड्को मारे।
उनी २०४२ सालमा २४ ग्राम खैरो हिरोइन सहित पक्राउ परेका थिए। त्यति वेला ६ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय पाएका थिए।
पटक पटक कारोबार गरेकाले २०४६ सालमा तत्कालीन बागमती विशेष अदालतले थप दुई वर्ष कैद र एक हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। तर एक वर्षपछि तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतले कैद अवधि घटाएर एक वर्षमा झारिदिएपछि उनी चाँडै छुट्न सफल भए। पटक पटक सजाय भुक्तान गरे पनि उनको बानी सुध्रिएन। बरु नियामक निकायको आँखा छल्दै निर्बाध गतिविधि बढाए।
अन्ततः चौथो पटक अदालतले कैद सजाय तोकेको हो। बुढ्यौली उमेर भएकाले उनी अहिले भने यो कारोबारमा नरहेको प्रहरीको भनाइ छ। उनलाई पुरानै मुद्दामा सजाय सुनाइएको हो।