कर्णालीमा गठबन्धन र एमालेको उम्मेदवारी
राष्ट्रिय सभाको चुनावका लागि कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धन र नेकपा (एमाले)का ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
कर्णालीमा राष्ट्रिय सभाका तीन सीटका लागि चुनाव हुँदै छ। जसमा सत्तारूढ गठबन्धन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एक-एक सीटमा उम्मेदवारी दिएका छन्।
महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), दलिततर्फ माओवादीका विष्णु विक (कालिकोट) र अन्यतर्फ कांग्रेसका कृष्ण रोकायाले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै, नेकपा (एमाले)ले तीनै सीटमा उम्मेदवारी दर्ता गराएको छ। महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, दलिततर्फ दैलेखका हिक्मत विक र अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्टले उम्मेदवारी दिएका छन्।
उम्मेदवारी दर्ता गर्न एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गुलाबजंग शाह लगायत नेताहरू निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
कर्णालीमा अन्य दलले उम्मेदवारी दिएका छैनन्। सत्तारूढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ।