पाँचौं पटक संसद् छिर्ने प्रयासमा आनन्द ढुंगाना
मधेश प्रदेशबाट राष्ट्रिय सभाका दुई सीटका लागि चार दलका पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्।
सत्ता गठबन्धनबाट आनन्द ढुंगाना र पूजा चौधरीले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसका ढुंगानाले अन्यतर्फ र जसपाकी चौधरीले महिलातर्फ उम्मेदवारी दर्ता गराएका हुन्।
ढुंगाना कांग्रेसका अनुशासन विभाग प्रमुख हुन्। उनी पाँचौं पटक संसद् छिर्न उम्मेदवार बनेका छन्। २०४८ सालयता उनी चार पटक सांसद भइसकेका छन्। २०४८, २०५१ र २०५६ सालमा धनुषाबाट प्रत्यक्ष निर्वाचित भएका थिए।
२०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भएका उनी २०७० सालमा समानुपातिकतर्फबाट सांसद चुनिएका थिए। २०७४ सालको निर्वाचनमा धनुषा-१ बाट प्रतिस्पर्धा गर्दा नेकपा (माओवादी केन्द्र)का मातृकाप्रसाद यादवसँग पराजित भएका थिए।
२०२५ सालबाट औपचारिक राजनीति थालेका ढुंगाना दुई वर्षपछि नेविसंघमा आबद्ध भएका थिए। समर्थकले तत्कालीन राजा महेन्द्रको ५२औं जन्मदिनमा जानकी मन्दिर अगाडि उत्सव मनाइरहँदा ढुंगाना सहितका नेताहरूले कालो झन्डा देखाएका थिए। उक्त कसूरमा उनी विरुद्ध राजकाज मुद्दा चलाइयो। एक वर्ष कैद बसिसकेपछि सर्वोच्च अदालतले छोड्न आदेश दिएको थियो।
१२ वर्षसम्म जिल्ला सचिव हुँदै उनी २०४४ सालतिर कांग्रेसका जिल्ला सभापति बनेका थिए। २०४६ सालको आन्दोलनमा जनकपुर अञ्चलका कमान्डर थिए। आन्दोलनको क्रममा पक्राउ परेका उनी तीन महीना जेल बसेका थिए। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा २०५५ सालमा पर्यटन, आपूर्ति र वनमन्त्री भएका थिए।
त्यस्तै, जसपाबाट उम्मेदवार बनेकी चौधरी गत प्रदेश सभाको निर्वाचनमा रौतहट ३ ‘क’ बाट उम्मेदवार बनेकी थिइन्। उनी स्वतन्त्र उम्मेदवार केशव रायसँग दुई हजार मतान्तरले पराजित भएकी थिइन्।
नेकपा (एमाले)बाट राष्ट्रिय सभा सदस्यका लागि अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराएका छन्। अन्यतर्फ अर्जुनसिंह राजपुतले टिकट पाएको भए पनि मतदाता नामावलीमा नाम नभएपछि निर्वाचन कार्यालयबाट फर्केका थिए।
अन्तिम समयमा टिकट पाएकी धनुषाकी झा एमाले प्रदेश कमिटी सदस्य हुन्। त्यस्तै, पर्साकी थरुनी एमाले जिल्ला सचिवालय सदस्य हुन्।
सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले पनि उम्मेदवारी दर्ता गराएको छ। जनमत पार्टीबाट रमाशंकर महासेठले अन्यतर्फ उम्मेदवारी दिएका छन्। गठबन्धनले जनमतलाई एक सीट दिने सहमति गरेको भए पनि अन्तिममा आएर नदिएका कारण उम्मेदवारी दर्ता गराएको जनमतका नेता सञ्जयकुमार यादवले बताए।
जनमत पार्टीको स्थापनाकालदेखि नै क्रियाशील महासेठले जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। अहिले उनी केन्द्रीय सदस्य छन्।
मधेश प्रदेशमा जम्मा मतभार १० हजार ७४४ छ। जसमा प्रदेश सभा सदस्य १०७ को पाँच हजार ६७१ र स्थानीय तहका २६७ जना प्रमुख तथा उपप्रमुखको पाँच हजार ७३ मतभार छ।