गण्डकीमा चार दलका आठ जनाको उम्मेदवारी
राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा चार दलका आठ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेता तथा कार्यकर्ता सहित सोमबार प्रदेश निर्वाचन कार्यालय पुगेर नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले मनोनयन दर्ता गरेका हुन्।
सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठले उम्मेदवारी दिएका छन्। परियारले अपांगता तथा अल्पसंख्यक र श्रेष्ठले अन्यबाट उम्मेदवारी दिएका हुन्।
त्यस्तै, गठबन्धनकै माओवादीकी मनरूपा शर्माले उम्मेदवारी दर्ता गराएकी छन्। पर्वतकी शर्माले महिलातर्फ उम्मेदवारी दिएकी हुन्।
एमालेबाट पनि तीन जनाले उम्मेदवारी दिएका छन्। महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अपांगता तथा अल्पसंख्यकतर्फ मुस्ताङका हेमन्त शेरचन र अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुलीले उम्मेदवारी दर्ता गराएका छन्।
यता, राप्रपाका तर्फबाट दुई जनाले उम्मेदवारी दिएका छन्। महिलातर्फ तनहुँकी गौमाया श्रेष्ठ र अन्यतर्फ कास्कीका रुमबहादुर भण्डारीले मनोनयन दर्ता गराएका हुन्।
आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा २३० मतदाता रहेको निर्वाचन आयोगको कार्यालय, गण्डकीका प्रमुख निर्वाचन अधिकृत हुमनाथ पराजुलीले बताए। जसमा प्रदेश सभा सदस्य ६० जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख १७० जना छन्। उनीहरूको कुल मतभार ६ हजार ४१० कायम गरिएको छ।