मधेशमा जनमतको असन्तुष्टि, रामशंकर महासेठले दिए उम्मेदवारी
सत्तारूढ गठबन्धनमा रहेको जनमत पार्टीले मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएको छ।
मधेश प्रदेशमा जनमत पार्टीका रामशंकर महासेठले उम्मेदवारी दिएका हुन्। गठबन्धनले जनमतलाई सीट नदिएपछि असहमति जनाउँदै उम्मेदवारी दर्ता गरिएको जनमतले जनाएको छ।
त्यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसका आनन्द ढुंगाना र पूजा चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। ढुंगानाले अन्यतर्फ र चौधरीले महिलातर्फ उम्मेदवारी दिएका हुन्।
यसैगरी, नेकपा (एमाले)बाट अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनीले उम्मेदवारी दिएका छन्। झाले अन्तिम समयमा टिकट पाएकी हुन्।
यसअघि अन्यतर्फ एमालेले अर्जुनसिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। उनी उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पनि पुगेका थिए। तर मतदाता नामावलीमा नाम नभएपछि उम्मेदवारी दर्ता भएको थिएन। त्यसपछि एमालेले झालाई उम्मेदवार बनाएको हो।