जातीय विभेद विरूद्ध उभिनुपर्छ थारू समुदाय
सीमान्तीकृत समुदायबीच नै हुने विभेद र यसबाट उत्पन्न हुने द्वन्द्वले यी समुदायको अधिकार प्राप्तिको बाटो नै अवरुद्ध गर्छ।
“आज म घोंगी खान तिम्रो घर जान्छु,” एक दिन स्कूलमा दिउँसोकोे खाजा खाने वेला साथी शोभाले भनिन्।
क्षेत्री समुदायकी थिइन् शोभा। हामी कक्षा ५ सम्म कैलालीको कैलारी गाउँपालिका-७, रामपुरस्थित जनता प्राविमा सँगै पढेका थियौं। हामी कक्षामा असाध्यै मिल्ने साथी थियौं।
उनको परिवार पहाडबाट बसाइँ सरेर कैलाली आएको थियो।
त्यति वेला अहिले जस्तो स्कूलमा खाजा लिएर जाने चलन थिएन। नजिक घर हुनेहरू हाफ छुट्टीको समयमा घरमै गएर खाजा खान्थे। दिउँसो शोभा हामीसँगै आउँथिन्। उनलाई घोंगी निकै मन पर्थ्यो तर उनको घरमा पाक्दैनथ्यो। त्यसमाथि, बाहिर थारूहरूकहाँ गएर घोंगी खाएको थाहा पाए घरमा बाआमाले गाली गर्ने डर हुन्थ्यो।
कैलारी थारू बहुल ठाउँ हो। गाउँपालिका प्रोफाइल अनुसार यहाँ आन्तरिक बसाइँसराइ गर्नेहरू मुख्य गरी अछाम र डोटीबाट आउँछन्। ती जिल्लामा दलितको बाहुल्य छ। बसाइँसराइसँगै पहाडी क्षेत्रबाट ब्राह्मण, क्षेत्री, दलित र जनजाति समुदायका मानिस हाम्रो गाउँमा आए। थारू समुदाय र पहाडी समुदायबीच सांस्कृतिक अन्तर्घुलन बढ्दै गयो। थारूहरूले तीज मनाउन शुरू गरे। तिहारमा भाइटीका लगाउन थाले। पहाडबाट आउनेहरूले पनि माघी मनाउन थाले। विवाह, सत्यनारायणको पूजामा दुवै समुदाय सहभागी हुन थाले। तर यी सबैसँगै गाउँमा ‘जात’ पनि छिर्यो।
दलितहरू आएसँगै थारूहरू पनि विष्ट बने। दलित समुदायलाई थारू समुदायले पनि बालीघरेका रूपमा काम लगाउन थाल्यो। हाम्रो घरमा पनि एक जना नेपाली थरको अंकलले कपडा सिलाउन शुरू गर्नुभयो। उहाँ घरछेउमा बहरी (बैठक कोठा)मा बसेर कपडा सिलाउनुहुन्थ्यो। खाना भोर्लाको पातमा बहरीमै दिन्थ्यौं। पातमा खाना दिने हुँदा माझ्नुपर्ने झन्झट हुँदैनथ्यो।
कक्षा ५ देखि नै लक्ष्मीप्रसाद देवकोटाको कविता ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ मुखमै थियो। कक्षा ८ मा पढ्दै गर्दा एक दिन शिक्षकले कक्षामा को कुन जातको भनेर छलफल गराए। मैले पहिलो पटक जातका आधारमा ब्राह्मण-क्षेत्रीलाई सबैभन्दा उच्च र दलितलाई सबैभन्दा तल्लो तहमा राखिएको रहेछ भन्ने थाहा पाएँ। थारू सबैभन्दा तल्लो तहमा नपरेकोमा मनमनै खुशी भएँ। घरमा भएको विभेद बिस्तारै स्कूलमा पनि सर्दै गयो। मैले विभेद सिकें। मेरो समुदायले पनि विभेद सिक्यो।
विसं १९१० को मुलुकी ऐनले तत्कालीन मोरङमा रहने मेचे (मेच्या)ले भैंसी, सुँगुर, कुखुरा खाने भएकाले पानी नचलेको तर तिनै कुरा खाने नेवार, मगर गुरुङ, भोटे, लाप्चाको पानी चल्दै आएको र मेचेका छोराछोरी दरबारसम्म कमाराकमारी बसेको तर्क गर्दै उनीहरूलाई पानी चल्ने जातमा राखेको थियो।
त्यस्तै, ऐनले थारू जातले मेचे समुदायले छोएको पानी नचलाएमा पाँच रुपैयाँ दण्डको व्यवस्था गरेको थियो। जरिवाना तिर्न नसके कैदको समेत व्यवस्था गरेको थियो। यसले मुलुकी ऐनले थारू समुदायलाई पनि जबर्जस्ती हिन्दू वर्णाश्रम व्यवस्थाभित्र धकेलेको अनुमान गर्न सकिन्छ। परम्परागत रूपमा थारू समुदायभित्र छुवाछूत प्रथा छैन। थारू समुदायमा विवाह गर्दा पनि जात हेरिंदैन। तर पछिल्लो समय थारू समुदायभित्र अन्तरजातीय विवाह प्रायः हुने गरेको छैन।
केही समयअघि कञ्चनपुर जिल्लाको गुलरियामा मेरी एक बहिनीको विवाह भयो। विवाहपछि उनीसँग बाक्लै कुरा भइरहन्छ। सामाजिक विषयमा चासो राख्ने भएकाले मैले गाउँठाउँको कुरा सोधें। त्यहाँ पनि थारू र दलित समुदायबीच विभेदको ठूलै खाडल रहेछ। मैले बिस्तारै समाज बुझ्दै गएँ।
कैलारी गाउँपालिकाको गाउँपालिका प्रोफाइल, २०७४ अनुसार गाउँपालिकामा सबैभन्दा उच्च जनसंख्या थारूको छ। थारू समुदायको जनसंख्या ४१ हजार ९८७ छ भने दलितहरू दुई हजार हाराहारीमा छन्। दलितहरूको बसोबास छरिएको छ। भूस्वामित्वको हिसाबले गाउँपालिकामा १६ प्रतिशतसँग जग्गाको स्वामित्व छैन। कुल घरधुरीमध्ये ३७.८५ प्रतिशत गरीबीको रेखामुनि छन्। सबैभन्दा बढी गरीबी भएको कैलारी-८ मा ३९.९७ प्रतिशत समुदाय गरीबीको रेखामुनि छ। गरीबी र भूमिहीनताको चपेटामा भएकामध्ये अधिकांश थारू र दलितहरू नै छन्। सबैभन्दा गरीबी दर रहेको वडा नं. ८ थारू बहुल क्षेत्र हो।
गाउँपालिकाका दलित समुदाय र थारू समुदायको आर्थिक-सामाजिक तथ्यहरूले समाजको पिंधमा रहेका समुदायबीच नै भएको विभेदबाट कसले लाभ उठाइरहेको छ भन्ने प्रश्न उठ्छ। यसको उदाहरणमा गाउँपालिकाका नौ वडामध्ये २२ प्रतिशतमा पछिल्लो स्थानीय तहको निर्वाचनमा पहाडी गैरदलित समुदायको नेतृत्व छ। दलित महिला आरक्षित सीट बाहेक कुनै पनि पदमा दलित समुदायको प्रतिनिधित्व छैन। एउटै आर्थिक-सामाजिक अवस्था र राज्य संरक्षित विभेदमा बाँचिरहेका यी दुई समुदायबीच विभेदको राजनीतिलाई नबुझी हामीले दलित-जनजाति सहकार्यको बाटो पहिल्याउन सक्दैनौं।
म अहिले समुदायमा संवाद मार्फत द्वन्द्व व्यवस्थापनका लागि काम गर्छु। दलितमाथि हुने विभेद विरुद्ध गाउँमै आफ्नो समुदायलाई सचेत गराउँदै आएकी छु। यो एक्लै प्रयास गरेर हुने कुरा त होइन, सामूहिक प्रयास जरुरी छ। हाम्रो समुदायमा द्वन्द्वका बाहिरी रूपहरू देखिन्छन्। तर समाजभित्र रहेका जातीय विभेद र अपमानका कारण उत्पन्न हुने द्वन्द्वबारे कमै ध्यान जान्छ।
त्यसमाथि सीमान्तीकृत समुदायबीच नै हुने विभेद र यसबाट उत्पन्न हुने द्वन्द्वले सीमान्तीकृत समुदायको अधिकार प्राप्तिको बाटो नै अवरुद्ध गर्छ। थारू समुदाय आफैंमा राज्यबाट उपेक्षित समुदाय हो। त्यसमाथि थारू समुदायभित्र बिस्तारै बढ्दै गएको दलितमाथिको विभेदका घटनाहरूले नेपाली समाजको सामाजिकीकरणको प्रक्रियामै ठूलो प्रश्न उठाएको छ। यो प्रश्नबाट थारू समुदाय भाग्न मिल्दैन।
(चौधरी दलित रीडरको सामाजिक न्यायका लागि लेखन कार्यशालाकी सहभागी हुन्।)