बागमतीमा १५ जनाको उम्मेदवारी
राष्ट्रिय सभा निर्वाचनका लागि बागमतीमा ६ दलका १५ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
नेकपा (एमाले)बाट महिलातर्फ रोजकुमारी चौलागाईं (दोलखा), अन्यतर्फ विवेक देवकोटा (काठमाडौं), दलिततर्फ ध्रुव विश्वकर्मा (धादिङ), अपांगता भएका व्यक्तितर्फ त्रिलोचन निर्मल पौडेल (चितवन)ले उम्मेदवारी दर्ता गरेका छन्।
त्यस्तै, नेपाल मजदूर किसान पार्टी (नेमकिपा)बाट अपांगता तथा अल्पसंख्यकतर्फ हिमालयेश्वर मुल (भक्तपुर), अन्यतर्फ श्रीकृष्ण महर्जन (काठमाडौं), दलिततर्फ संगीता नेपाली (भक्तपुर) र महिलातर्फ कृष्णलक्ष्मी दुवाल (भक्तपुर)ले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताए।
यसैगरी, सत्तारूढ गठबन्धनमा रहेका तीन दलले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट महिलातर्फ विष्णुदेवी पुडासैनी (काठमाडौं) र अन्यतर्फ जितजंग बस्नेत (ललितपुर)ले उम्मेदवारी दिएका छन्।
नेकपा (माओवादी केन्द्र)बाट अन्यतर्फ श्रीकृष्ण अधिकारी (नुवाकोट) र नेकपा (एकीकृत समाजवादी)बाट अन्यतर्फ घनश्याम रिजाल (दोलखा)ले उम्मेदवारी दिएका छन्।
राप्रपा नेपालबाट अन्यतर्फ हेमजंग गुरुङ, महिलातर्फ बालकुमारी डल्लाकोटी र अपांगता तथा अल्पसंख्यकतर्फ भरतमणि भट्ट उम्मेदवार बनेका छन्।
बागमतीमा ३३७ मतदाता छन्। हेटौंडा-४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्राविधिक शिक्षालयको भवनमा मतदान केन्द्र तोकिएको छ।