प्रतिपक्षीले बहिष्कार गरेको निर्वाचनमा शेख हसिनालाई बहुमत
मुख्य प्रतिपक्षीको बहिष्कार र न्यून सहभागिता रहेको बाङ्लादेशको निर्वाचनमा सत्ताधारी गठबन्धनले बहुमत प्राप्त गरेको छ।
बाङ्लादेशको विवादास्पद निर्वाचनमा बहालवाला प्रधामन्त्री शेख हसिना विजयी भएकी छन्। यो विजयसँगै उनको पाँचौं कार्यकाल शुरू भएको छ।
बीबीसीका अनुसार पुस २२ मा बाङ्लादेशमा सम्पन्न आमनिर्वाचनमा ३०० मध्ये २२३ सीट हसिनाको दल अवामी लिग सहितको गठबन्धनले जितेको छ। यद्यपि मुख्य विपक्षी दल बाङ्लादेश न्याशनल पार्टी (बीएनपी) सहितको गठबन्धनले निर्वाचन बहिष्कार गरेको थियो।
भारतीय सञ्चारमाध्यम द वायरका अनुसार स्वतन्त्र उम्मेदवारहरूले ५२ सीट जितेका छन् भने तेस्रो ठूलो दल जातीय पार्टीले जम्मा ११ सीट जितेको छ।
मुख्य प्रतिपक्षी दल बीएनपीले चुनाव देखावटी मात्र भएको आरोप लगाएको छ। बीएनपीका नेता र कार्यकर्तालाई गिरफ्तार गरिएको समाचारमा उल्लेख छ।
निर्वाचनमा सहभागिता पनि न्यून छ। सरकारी स्रोतले ४० प्रतिशत मतदाता मात्रै निर्वाचनमा सहभागी भएको जनाएको छ तर आलोचकहरूले यो संख्या पनि बढाइचढाइ गरिएको दाबी गरेका छन्। सन् २०१८ मा भएको निर्वाचनमा भने ८० प्रतिशतले मत दिएका थिए।
निर्वाचन आयोगले आधिकारिक रूपमा निर्वाचन परिणाम घोषणा गरिसकेको छैन।आज साँझसम्म निर्वाचन परिणाम घोषणा गर्ने अनुमान गरिएको छ।
प्रधानमन्त्रीका रूपमा हसिनाको यो पाँचौं कार्यकाल हो। सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी उनी २००९ मा पुनः निर्वाचित भएकी थिइन्। सन् २०१४ र २०१८ को निर्वाचन पनि उनकै पार्टीले जितेको थियो।