यस्तो छ राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यतालिका
राष्ट्रिय सभा सदस्यका रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदै छ।
सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्यजिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
यस निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुनेछन्। कानूनी व्यवस्था अनुसार प्रदेश सभा सदस्य ५४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावली स्वीकृत भएको छ।
निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ। जस अनुसार प्रदेश सभा सदस्यको कुल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार ४६२ रहनेछ।
आयोगका अनुसार मतदाताको अन्तिम नामावली आइतबार प्रकाशन भइसकेको छ।
निर्वाचनको कार्यतालिका अनुसार उम्मेदवारीउपर यही पुस २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिनेछ। यस निर्वाचनमा सात प्रदेशमा एक-एक मतदानस्थल र दुई-दुई मतदान केन्द्र कायम गरिएको छ। मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। -रासस