राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसका १० उम्मेदवार तय
आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्नो उम्मेदवार टुंगो लगाएको छ।
गएराति बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि १० जना उम्मेदवार तय गरेको हो। जस अनुसार कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला (अन्य), मधेशबाट आनन्दप्रसाद ढुंगाना (अन्य), बागमतीबाट जीतजंग बस्नेत (अन्य), विष्णुदेवी पुडासैनी (महिला), गण्डकीबाट किरणबाबु श्रेष्ठ (अन्य), पदमबहादुर परियार (अपांगता/अल्पसंख्यक), लुम्बिनीबाट विष्णुकुमारी सापकोटा (महिला), कर्णालीबाट कृष्णबहादुर रोकाया (अन्य) तथा सुदूरपश्चिम प्रदेशबाट बलदेव बोहरा (अन्य) र नारायणदत्त भट्ट (अपांगता/अल्पसंख्यक)लाई उम्मेदवार बनाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
राष्ट्रिय सभा निर्वाचन आउँदो माघ ११ गते हुनेछ। रिक्त १९ पदका लागि हुने निर्वाचनको मनोनयन दर्ता आज हुँदै छ।