बरहथवामा मृत्यु भएका युवकका परिवार र प्रशासनबीच सहमति
सर्लाहीको बरहथवामा प्रहरीको गोली लागी मृत्यु भएका जयशंकर साहको परिवार र स्थानीय प्रशासनबीच सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा भएको छलफलपछि जयशंकरको परिवार शव उठाउन सहमत भएको हो। पुस २० गते प्रहरीको गोली लागेर उनको मृत्यु भएको थियो। परिवारजनले तीन दिनसम्म शव उठाएका थिएनन्।
दुवै पक्षबीच भएको सहमतिमा बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी जयशंकरको नामबाटै अस्पतालको नामकरण गरिने भएको छ। त्यस्तै, उनको परिवारका एक जनालाई नगरपालिकाले रोजगारीको व्यवस्था गर्ने भएको छ।
त्यसैगरी, गोली चलाउने प्रहरीलाई कारबाही गरिने, जयशंकरलाई शहीद घोषणा गर्न जिल्ला प्रशासन कार्यालयले सिफारिश गर्ने लगायत सहमति भएका हुन्। बैठकमा प्रदेश सरकारका मन्त्रीसँगै स्थानीय नेता र जयशंकरका परिवारजन सहभागी थिए।