घाइते छोराको फोन पर्खिरहेकी आमा
युक्रेनसँगको युद्धमा घाइते भएको खबर पाएदेखि मोरङ, लेटाङकी कमला सार्की हरेक रात छोराको फोन पर्खेर अनिदै बस्ने गरेकी छन्।
घरछेउमा केही दिनदेखि काग कराइरहेको थियो। सधैं झैं मंसीर २६ मा पनि कागलाई हकार्दै मोरङको लेटाङ नगरपालिका-२, खैरेनीकी ५० वर्षीया कमला सार्की बारीमा रोपेको सिमीको झ्याङमा पानी पटाउँदै थिइन्। ठूली छोरी मन्जु सघाउँदै थिइन्। नातिनातिना सिमीको झ्याङ वरिपरि खेल्दै थिए।
घर छोडेर हिंडेदेखि माइलो छोरा सुरज मग्रातीसँग कमलाले राम्रोसँग बोल्न पाएकी थिइनन्। सुरजले फोनमा ‘सन्चै छ, राम्रै छ, पीर नमान्नू, चिन्ता नलिनू’ मात्रै भन्थ्यो। छोरालाई दोहोरो प्रश्न कहिल्यै गर्न पाइनन्। कहिले दुई दिनमा, कहिले साता दिनमा सुरजको फोन आउँथ्यो।
“आमा! म विदेश आएको छु। राम्रो पैसा कमाइ हुन्छ भनेको छ,” फोनमा सुरज भन्ने गर्थे, “तपाईं मजदूरी नगर्नू, घरमै बस्नू, मीठोमसिनो बनाएर खानू। अब हाम्रा सुखका दिन आउँछन्।”
सुरज कुन देश गयो भन्ने परिवारजनलाई थाहा थिएन। उनले आमालाई पनि भनेका थिएनन्। सुरजकी दिदी मन्जु भन्छिन्, “सुरज ठूलै देश जाने भनेर पासपोर्ट बनाएर बसेको थियो।”
विदेश गएपछि पनि सुरजले फोनमा राम्रै छ भन्ने गरेका थिए। मंसीर अन्तिम साता सिमीबारीमा काम गरिरहेको वेला कमलाले छोरीलाई सोधिन्, “तालीममा छु भन्छ, फोन पनि गर्दैन। कस्तो तालीम हो?”
मन्जुले आमालाई गाउँकै मान्छेले पठाएको भनेर ढुक्क बनाउन खोजिन्। छोराबारे धेरै जानकारी नपाएकी कमला फोनमा लामो कुरा किन गर्दैन भनेर प्रश्न गरिरहेकी थिइन्। उनको मन शान्त थिएन, छटपटीमै थिइन्।
त्यही वेला घरछेउमै एउटा मोटरसाइकल रोकियो। मोटरसाइकलमा आएका युवकले कमलालाई सोधे, “आन्टी! सुरजको फोन आयो? सुरजको केही खबर आयो?”
कमला एकहोरो टोलाइन्। चिनजान नै नभएको युवकले एक्कासि छोराबारे सोधेकाले कुनै जवाफ दिन सकिनन्। किन छोराबारे सोध्यो भनेर मन्जुतिर हेरिन्। मोटरसाइकलमा आएका गाउँलेले भनेको कुरा सुनाउँदै मन्जु भन्छिन्, “सुरजलाई त गोली लागेको छ रे! मेरो दाइलाई भने युक्रेनी सेनाले पक्रेको छ रे! दाइसँग त सम्पर्क नै छैन, सुरज घाइते छ भन्ने सुनेको छु। रूसको अस्पतालमा छ रे!”
मोटरसाइकलमा आएका युवक त गए तर कमलाको भने होसहवास उड्यो। “आमा बेहोश हुनुभयो,” मन्जु भन्छिन्, “अझै पनि सम्हालिन सक्नुभएको छैन। घरी होशमा आउनुहुन्छ, घरी बेहोश।”
सुरज रूसी सेनामा भर्ती भएको परिवारजनले एकै पटक घाइते भएको खबर आएपछि थाहा पाएका थिए। सुरजले आफू विदेशमा राम्रो ठाउँमा भएको बताउने गरेको दिदी मञ्जु जनाउँछिन्। “कहिलेकाहीं इमोमा आर्मीको ड्रेस लगाएको, हतियार बोकेको फोटो पठाउँथ्यो,” उनी भन्छिन्।
परिवारजनका अनुसार सुरज सानैदेखि सेनामा भर्ती हुन चाहन्थे। कोशिश गरेको भए पनि भर्ती हुन सकेनन्। देशमा पूरा नभएको सपना उनले विदेश गएर पूरा गरेका थिए। तर युक्रेनसँग लडाइँ गरिरहेको रूसको सेनामा भर्ती भएको हो भन्ने परिवारलाई थाहा थिएन। “भाइ रूसी सेनाबाट युद्ध लड्दा घाइते भएको खबर सुनेपछि आकाशबाट भुइँमा खसे जस्तै भयो, केही सोच्नै सकेनौं,” मन्जु भन्छिन्।
सुरजकी आमा प्रौढ कक्षाको भरमा सावाँ अक्षर छुट्याउन सक्छिन्। आर्थिक अवस्था कमजोर भएकाले मन्जुले स्कूलको पढाइ बीचमै छोडिन्। साउदी पुगेका जेठा दाइ रोगले च्यापेपछि गत भदौ अन्तिम साता घर फर्किएका थिए। भर्खरै नेपाली सेनामा भर्ती भएको कान्छो भाइ तालीममै छ।
मजदूरी गरेर गुजारा चलाइरहेको सार्की परिवारमाथि एकाएक नसोचेको बज्रपात आइलागेको छ। त्यो दिनदेखि परिवारको दैनिकी नै खलबलिएको छ। “आमा रोएको रोयै हुनुहुन्छ, बुबा (जगत)ले पनि काम गर्न सक्नुभएको छैन,” मन्जु भन्छिन्।
दशैंमा घर नफर्केर रूसको यात्रा
लेटाङबाट असोज पहिलो साता काठमाडौंतिर लाग्दा सुरजले भनेका थिए, “दशैंमा घर आउँछु।” विदेश जाने प्रक्रिया शुरू गर्न काठमाडौं जान लाग्दा पनि आमा कमलाले मानेकी थिइनन्। गाउँकै भूमिराज साम्पाङले ‘आन्टी! पीर गर्नु पर्दैन। सुरज राम्रो कामका लागि जान लागेको छ, पैसा पनि राम्रो कमाइ हुन्छ’ भनेपछि कमलाले मन बुझाएकी थिइन्।
गाउँको मान्छेले भनेपछि उनलाई पनि लागेको थियो- छोरो राम्रै देश जाँदै छ। काठमाडौंबाट एक पटक फोनमा पनि सुरजले आमालाई भनेका थिए, “आमा! म भिसा लागेपछि घर आउँछु। सेलरोटी पकाएर खानुपर्छ है।”
तर आमालाई थाहै नदिई सुरज कात्तिक ४ मा रूसका लागि उडे। दुबई हुँदै मस्को पुगेका उनी १५ दिने सैन्य तालीम लिएर युद्धग्रस्त क्षेत्रमा खटिएका थिए। “सुरजको दाहिने हात र दुवै खुट्टामा तीन गोली लागेको रहेछ,” दिदी मन्जु भन्छिन्।
सुरजसँगै गएका थिए, लेटाङ-३ दार्जीलिङ लाइनका विकास राई। दुवै जना रूसी सेनामा भर्ती भएर सँगसँगै युक्रेनसँगको युद्ध क्षेत्रमा खटिएका थिए। सुरज घाइते भए भने विकास युक्रेनी सेनाको कब्जामा परे।
उद्धारका लागि अपील
कमलाले केही समयअघि घर बनाएकी थिइन्। मजदूरी गरेर जोडेको पैसाले नपुगेपछि ऋण निकालेकी थिइन्। त्यो ऋण तिर्न बाँकी नै थियो, फेरि सुरज विदेश जाने भएपछि थपिन्। “सयकडा तीनका दरले ब्याजमा ऋण निकालेर पठाएकी थिएँ,” आमा भन्छिन्।
कमलालाई ऋणको चिन्ता छैन। त्यो त जसरी पनि तिर्न सकिएला भन्ने साहस बोकेकी उनी छोरा घाइते भएको खबरले भने थलिएकी छन्। “बरु खोले नै खान्छु, त्रिपाल टाँगेर खोलाको बगरमा निदाउँछु, घरजग्गा बेचेर ऋण तिर्छु तर मेरो छोरालाई सकुशल नेपाल ल्याइदिए हुन्थ्यो,” उनी भन्छिन्।
कमला र जगतले मजदूरी गरेरै परिवार पालेका हुन्। आजभोलि भने मजदूरी गर्न घर बाहिर निस्कन सकेका छैनन्। काम गर्न त हातगोडा चल्नुपर्छ। छोराका हातखुट्टामा गोली लागेको सुनेयता आमाबुबाका पनि हातखुट्टा चलेका छैनन्।
युक्रेनसँगको युद्धमा गोली लागेर घाइते भएका सुरजलाई रूसी सेनाकै निगरानीमा अस्पतालमा उपचार गरिएको छ। उनी अहिले निको हुँदै छन्। अलि अलि हिंड्न थालेको सुरजले फोनमा बताएका छन्।
रूसी सेनामा भर्ती भएका नेपाली युवा भाग्न थालेपछि भने निगरानी बढाइएको छ। घरपरिवारसँग समेत फोन सम्पर्क गर्न नदिएको परिवारजन बताउँछन्। शौचालय जाँदा पनि सुरक्षाकर्मी खटाइने गरेको छ।सुरजले फोनमा आमालाई सुनाएका थिए, “खानाको टुंगो हुँदैन, कहिले दिनभर भोकै राख्छन्।”
चिकित्सकले आराम गर्न भनेका घाइतेलाई पनि पुनः युद्धस्थल पठाउने तयारी गरिएको सुरजले सुनाएका थिए। पुस १९ को राति साथीको मोबाइलबाट इमो मार्फत फोन आएको थियो। “मलाई जसरी भए पनि नेपाल फिर्ता ल्याउन पहल गर्नू,” फोनमा आमालाई भनेका थिए, “हामीलाई फेरि युद्धमा पठाउने तयारी भइरहेको छ।”
दिउँसोभरि त कमला छटपटीमै हुन्छिन्। पछिल्लो समय त राति पनि सुत्न सकेकी छैनन्। किनकि सुरजको फोन मध्यराति आउँछ। उनी भन्छिन्, “म निदाएको वेला छोराको फोन आयो भने कसले उठाउला? फोन उठेन भने छोराले के सोच्ला? फेरि बोल्न पाइएला कि नपाइएला!”
यो पनि पढ्नुहोस् :