एमालेले टुंग्यायो उम्मेदवार, कुन प्रदेशबाट को?
नेकपा (एमाले)ले राष्ट्रिय सभा निर्वाचनका लागि १९ जना उम्मेदवारको टुंगो लगाएको छ।
एमाले महासचिव शंकर पोखरेले सातै प्रदेशका उम्मेदवार टुंगो लागेको बताएका छन्। कोशी प्रदेशबाट महिलातर्फ सुनसरीकी रुक्मिणी कोइराला, अन्यतर्फ भोजपुरका पर्शुराम अधिकारी, मधेश प्रदेशबाट महिलातर्फ पर्साकी उषादेवी थरुनी र अन्यतर्फ महोत्तरीका अर्जुनकुमार सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
त्यस्तै, बागमती प्रदेशबाट महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, अन्यतर्फ चितवनका त्रिलोचन निर्मल पौडेल, अपांगता तथा अल्पसंख्यकतर्फ काठमाडौंका विवेक देवकोटा र दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मा एमालेका उम्मेदवार तय भएका छन्।
एमालेले गण्डकी प्रदेशबाट महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अपांगता तथा अल्पसंख्यकतर्फ मुस्ताङका हेमन्द्र शेरचन तथा लुम्बिनी प्रदेशबाट महिलातर्फ दाङकी तुलसाकुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्रीलाई उम्मेदवार चयन गरेको छ।
यसैगरी, कर्णाली प्रदेशबाट महिलातर्फ जुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विक तथा सुदूरपश्चिम प्रदेशबाट महिलातर्फ कैलालीकी सावित्रादेवी घिमिरे, अन्यतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अपांगता तथा अल्पसंख्यकतर्फ कैलालीका रामचन्द्र जोशी उम्मेवार बन्ने भएका छन्।
राष्ट्रिय सभाका १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदै छ। त्यसका लागि सोमबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।