गुन्द्रुक-भटमास बोकेर आए, उपकरण बूकिङ गरेर फर्किए
कृषि उत्पादन लिएर पोखराको नयाँ बजार पुगेका गण्डकी प्रदेशका विभिन्न जिल्लाका किसान कृषि उपकरणबारे जानकारी बटुलेर घर फर्किएका छन्।
बाग्लुङकी चित्र छन्त्याल एक सातादेखि पोखरामा छिन्। रैथाने मकै, भटमास, बाँकाको गुन्द्रुक, सिस्नुको पाउडर सहित पोखरा झरेकी उनी आइतबार भने प्रसन्न मुद्रामा देखिइन्।
प्रादेशिक कृषि यान्त्रिकीकरण प्रदर्शनीमा भेटिएकी छन्त्यालले भनिन्, “प्रदर्शनीमा हाम्रो उत्पादनको राम्रो बिक्री भयो।” रैथाने उत्पादनलाई अवलोकनकर्ताले रुचाएको उनले सुनाइन्।
प्रदर्शनीमा कृषियन्त्रसँगै रैथाने बालीको प्रदर्शनी र बिक्री पनि गरिएको थियो। उनी बाग्लुङको रुद्रताल सामाजिक उद्यमी महिला सहकारीको नेतृत्व गरेर प्रदर्शनीमा सहभागी हुन आएकी थिइन्। यही क्रममा कृषि उपकरणबारे जानकारी लिएको पनि सुनाइन्।
त्यस्तै, पोखरा-१३ की शीला कुइँकेल पनि कृषि उपकरणबारे सोधखोज गरिरहेकी थिइन्। व्यावसायिक कृषि फार्म सञ्चालन गरिरहेकी कुइँकेलले प्रदर्शनीबाट नयाँ कृषियन्त्रबारे जानकारी पाएको बताइन्।
उनी जस्तै उपभोक्ता र कृषि उपकरण, यन्त्र, सेवाका उत्पादकलाई एकै ठाउँमा जोड्न प्रदर्शनीको आयोजना गरिएको थियो। पुस २० देखि शुरू भएको प्रदर्शनी आइतबारसम्म चलेको छ। यसमा कृषियन्त्रको विशेष प्रदर्शनी राखिएको छ।
नेपाल कृषि मशिनरी व्यवसायी संघ, गण्डकी प्रदेश कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्रले संयुक्त रूपमा प्रदर्शनी आयोजना गरेका हुन्। पोखराको नयाँ बजार प्रदर्शनी केन्द्रमा सञ्चालन भएको प्रदर्शनी ३० हजार जनाले अवलोकन गरेको नेपाल कृषि मशिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले बताए।
प्रदर्शनीमा आएका किसान उपकरण बूकिङ गरेर फर्किएको शर्माले सुनाए। “प्रदेशका विभिन्न जिल्लाबाट आएका किसानले प्रदर्शनीमा राखिएका ७० स्टलबाट ६ करोड रुपैयाँका विभिन्न कृषियन्त्र बूकिङ गरेका छन्,” उनले भने।
कृषि औजार, उपकरण, यन्त्र लगायत विषयमा उत्पादक र उपभोक्तालाई जानकारी दिने उद्देश्यले पहिलो पटक भएको कार्यक्रम निकै उत्साहजनक रहेको उनले सुनाए।