एकीकृत समाजवादीका उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई
नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाका उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाल सहित तीन नेतालाई दिएको छ।
सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउने जिम्मा तीन नेतालाई दिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए। “राष्ट्रिय सभाको चुनावका विषयमा छलफल गरेका छौं, गठबन्धनसँग छलफल गरेर उम्मेदवारको टुंगो लगाउने जिम्मा तीन जना नेतालाई दिएका छौं,” खतिवडाले भने।
गठबन्धनमा भएको सहमति अनुसार एकीकृत समाजवादीको भागमा दुई सीट परेको छ। त्यसमा क्लस्टर तय हुन बाँकी रहेकाले गठबन्धनका नेताहरूसँग छलफल गरेर उम्मेदवार टुंग्याउने तय भएको खतिवडाको भनाइ थियो।
यसका लागि अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिइएको छ। तीनै जना नेताले उम्मेदवार चयन गर्नेछन्।
आउँदो माघ ११ गते राष्ट्रिय सभाका १९ पदका लागि चुनाव हुँदै छ। त्यसका लागि सोमबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।
गठबन्धनले सबै सीटमा संयुक्त उम्मेदवार बनाउने निर्णय गरेको छ। जसमा नेपाली कांग्रेसलाई १०, नेकपा (माओवादी केन्द्र)लाई ६, एकीकृत समाजवादीलाई दुई र जनता समाजवादी पार्टी (जसपा)लाई एक सीट बाँडफाँड गरिएको छ।
माओवादीले भने उम्मेदवारको टुंगो लगाइसकेको छ। सोमबार बसेको पदाधिकारी बैठकले ६ वटै उम्मेदवार टुंगो लगाएको हो।