माओवादीले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार
नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाका ६ जना उम्मेदवारको टुंगो लगाएको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको हो। माओवादीले कोशी प्रदेशमा महिलातर्फ चम्मादेवी कार्की, बागमती प्रदेशमा अन्यतर्फ श्रीकृष्णप्रसाद अधिकारी र गण्डकी प्रदेशमा महिलातर्फ मनरूपा शर्मा सुवेदीलाई उम्मेदवार बनाउने भएको छ।
त्यस्तै, लुम्बिनी प्रदेशमा अन्यतर्फ झक्कुप्रसाद सुवेदी, कर्णाली प्रदेशमा दलिततर्फ विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा महिलातर्फ रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय माओवादीले गरेको छ।
सत्तारूढ गठबन्धनमा भएको सहमति अनुसार माओवादीको भागमा ६ सीट परेको थियो। पदाधिकारी बैठकले सर्वसम्मत रूपमा ६ वटै सीटमा उम्मेदवार तय गरेको जनाएको छ।
आउँदो माघ ११ गते राष्ट्रिय सभाका १९ पदका लागि चुनाव हुँदै छ। त्यसका लागि सोमबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।
गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेसको भागमा १०, नेकपा (एकीकृत समाजवादी)को भागमा दुई र जनता समाजवादी पार्टी (जसपा)को भागमा एक सीट परेको छ। उनीहरूले उम्मेदवारको टुंगो लगाउन बाँकी नै छ।