सर्लाहीको बरहथवामा फेरि कर्फ्यू
प्रहरीको गोली लागेर एक युवकको ज्यान गएको सर्लाहीको बरहथवामा स्थानीय प्रशासनले फेरि कर्फ्यू लगाएको छ।
जिल्ला प्रशासन कार्यालय, सर्लाहीले आइतबार सूचना प्रकाशित गरी आइतबार दिउँसो १२ः४५ बजेदेखि सोमबार बिहान ८ बजेसम्म कर्फ्यू घोषणा गरेको हो। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको आदेशमा आवतजावतमा समेत रोक लगाइएको छ।
कर्फ्यूको समयमा आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिंडडुल गर्न एवं अरू कुनै प्रकारका उच्छृंखल गतिविधि गर्न नपाइने जनाइएको छ। शान्ति सुरक्षालाई ध्यानमा राखेर कर्फ्यू लागू गरिएको आदेशमा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बरहथवा नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान् मन्दिर र उत्तरमा सोती-चोर्नियाँ पुलको क्षेत्रमा कर्फ्यू लगाइएको छ। यसअघि पुस २० गते पनि कर्फ्यू लगाइएको थियो।
प्राथमिक स्वास्थ्य केन्द्रको स्वामित्व हस्तान्तरणको विषयलाई लिएर पुस २० गते विवाद भएको थियो। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो। प्रहरीले चलाएको गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो।
तीन दिनदेखि जयशंकरको शव सडकमै छ। उनीहरूले गोली हान्ने प्रहरीलाई कारबाही लगायत माग राखेर प्रदर्शन गरिरहेका छन्। पीडित परिवारलाई स्थानीय बासिन्दाले पनि सघाएका छन्।
प्रदर्शनकारीले बरहथवाका मेयर र प्रहरीमाथि ढुंगामुढा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थिति नियन्त्रणमा लिन केही राउन्ड अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ।