गोली लागेर मृत्यु भएका युवकको शव तीन दिनदेखि सडकमै, स्थानीय प्रदर्शनमा
प्रहरीको गोली लागेर ज्यान गुमाएका सर्लाहीको बरहथवाका युवकको शव तीन दिनदेखि सडकमै छ भने पीडित परिवारसँगै स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका छन्।
बरहथवा नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिको विषयलाई लिएर पुस २० गते विवाद भएको थियो। विवाद बढ्दै जाँदा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा गोली चल्दा बरहथवा–६ का जयशंकर साहको ज्यान गएको थियो।
पीडित परिवारले साहको शव अझै उठाएको छैन। तीन दिनदेखि सडकमै शव राखेर प्रदर्शन गरिरहेको छ।
उनीहरूले गोली चलाउने प्रहरीलाई कारबाहीको माग गरेका छन्। त्यस्तै, बरहथवाका मेयरले राजीनामा दिनुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ५० शय्याको अस्पताल बनाउनुपर्ने र अस्पतालको नाम जयशंकरको नामबाट राख्नुपर्ने माग गरेका छन्।
त्यसै गरी मृतकलाई शहीद घोषणा गर्नुपर्ने, अस्पतालमा मृतकको शालिक निर्माण गर्नुपर्ने, इलाका प्रहरी कार्यालय, बरहथवाका प्रमुख डीएसपी गंगाबहादुर थापालाई तत्काल निलम्बन गर्नुपर्ने माग राखेका छन्। मागको सुनुवाइ नभएसम्म शव नउठाउने जयशंकरका भान्जा विवेक साहले बताए।
पीडित परिवारलाई स्थानीय बासिन्दाले पनि सघाएका छन्। उनीहरू पनि तीन दिनदेखि प्रदर्शन गरिरहेका छन्।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले सर्वदलीय बैठकबाट समस्याको निकास खोज्न पहल भइरहेको बताए। “आज पनि बैठक बोलाएका छौं, पीडितका माग सम्बोधन गरेर समस्या समाधान गर्ने प्रयास गरिरहेका छौं,” धमलाले भने।
यसैक्रममा गोली चलाएको आरोप लागेका प्रहरी वरिष्ठ हवल्दारलाई जिल्ला प्रहरी कार्यालय तानिएको छ। इलाका प्रहरी कार्यालय, बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादवलाई जिल्ला प्रहरी कार्यालय तानिएको सर्लाहीका प्रहरी प्रमुख प्रवीण धितालले बताए। “घटनाको विषयमा अनुसन्धान गर्नका लागि उनलाई जिल्ला तानिएको छ, थप अनुसन्धान भइरहेको छ,” धितालले भने।
घटनाको छानबिन गर्न गृह मन्त्रालयले पनि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। गृहका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेको समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र छानबिन प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।
प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर स्थानीय व्यवसायी हुन्। तीन वर्षअघि बुबाको मृत्यु भएपछि एमबीबीएसको पढाइ छोडेर बाङ्लादेशबाट फर्किएका थिए। त्यसयता बुबाको व्यवसायलाई सम्हालिरहेका थिए।
उनको सर्लाहीमा होटल छ। त्यस्तै, कुखुराको दाना पनि बिक्री गर्थे। त्यो दिन उनी प्रदर्शनमा सहभागी भएका पनि थिएनन्। कामविशेषले साइकलमा गइरहेको वेला उनलाई गोली लागेको भान्जा विवेकले बताए।