राष्ट्रिय सभा चुनावमा भागबन्डा मिलाउन गठबन्धनका शीर्षनेता बालुवाटारमा
राष्ट्रिय सभाको निर्वाचनमा सीट बाँडफाँड गर्न सत्तारूढ गठबन्धनका शीर्षनेता बालुवाटार पुगेका छन्।
आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ताको समय तोकिएको छ। सातै प्रदेशस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नुपर्नेछ।
त्यसका लागि आज दलहरू उम्मेदवारको टुंगो लगाउँदै छन्। सत्तारूढ गठबन्धनमा भने सीटको बाँडफाँड हुन सकेको छैन।
शनिबार बसेको सत्तारूढ दलहरूको बैठकमा सहमति जुट्न सकेको थिएन। सरकारमा सहभागी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच सीट बाँडफाँड हुँदै छ।
त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा चारै दलका शीर्ष नेताको बैठक चलिरहेको छ। आज सीट बाँडफाँडको टुंगो लगाउने गरी छलफल चलिरहेको कांग्रेस नेता रमेश लेखकले बताए।
शनिबार साँझ बसेको बैठकमा कांग्रेसलाई १०, माओवादीलाई ६, एकीकृत समाजवादीलाई दुई र जसपालाई एक सीट दिने गरी छलफल भएको थियो। तर एकीकृत समाजवादीले नमानेपछि सहमति जुट्न सकेको थिएन।
उता, नेकपा (एमाले)ले भने १९ वटै सीटमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरिसकेको छ। एमालेका पनि उम्मेदवार तय गर्न भने बाँकी नै छ।