भुइँकाफल फलाउने प्राध्यापक जोडी
दिनभर विश्वविद्यालयका विद्यार्थीसँग अध्ययन-अध्यापनमा रमाउँदै आएका ससन देवकोटा र विशाल श्रेष्ठ साँझबिहान भने खेतबारीमा काम गरेर भुइँकाफल फलाइरहेका छन्।
सहायक प्राध्यापकद्वय ससन देवकोटा र विशाल श्रेष्ठ दिनभर कृषि विषय प्राध्यापन गर्छन्। चितवनका श्रेष्ठ भरतपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयको कृषि संकाय, बागबानी विज्ञान विभागमा कार्यरत छन्। सप्तरीका देवकोटा नेपाल पोलिटेक्निक इन्स्टिच्यूटसँगै कृषि तथा वनविज्ञान विश्वविद्यालयका आंगिक क्याम्पसमा कीटविज्ञान प्राध्यापन गर्छन्।
दुवै जना कृषिका विद्यार्थी पनि हुन्। प्राध्यापन सँगसँगै विद्यावारिधि गर्दै छन्। दिनभर प्राध्यापन गर्ने दुवै जना राति आफू पनि पढ्छन्।
उनीहरू कृषिको अध्ययन र प्राध्यापनमा मात्र सीमित छैनन्। कृषिकर्ममा पनि तल्लीन छन्। साँझबिहानको समय खेतमा बिताउँछन्।
विशाल र ससनको फार्ममा फलेको भुइँकाफल। तस्वीरहरू: सविता श्रेष्ठ/हिमालखबर
अलिकति फरक, उनीहरूको खेत आधुनिक छ। खेत नभनेर फार्म भनिन्छ। अनि फार्ममा उत्पादन हुने भएकाले होला, भुइँकाफल नभनेर स्ट्रबेरी भनिन्छ। त्यही स्ट्रबेरी यो जोडीको ब्रान्ड बनेको छ।
स्याउ, सुन्तला, केरामा रमाउने चितवनवासीलाई उनीहरूले फरक स्वाद चखाएका छन्। यो जाडो याममा पनि ताजा उत्पादन बजारमा पुर्याउन तल्लीन छन्। देवकोटा भन्छन्, “फलफूल भन्नासाथ स्याउ सम्झिने मानसिकता परिवर्तन हुँदै छ। स्वास्थ्यका लागि लाभदायक फल स्ट्रबेरी खानुपर्छ भन्न थालिएको छ।”
उनीहरूले भरतपुरमा व्यावसायिक रूपमा भुइँकाफल फलाउन थालेको चार वर्ष भयो। नेपाल एग्रोभाइन प्रालि स्थापना गरेर भरतपुर महानगरपालिका-५, समी चोकमा भुइँकाफल खेती शुरू गरेका हुन्। साढे दुई बिघा जमीन भाडामा लिएर गरिएको भुइँकाफल खेती बर्सेनि फस्टाउँदै गएको छ।
शुरूआतमा त मोरङको रंगेलीमा भुइँकाफल लगाएका थिए। भरतपुरमा प्राध्यापनका क्रममा चितवनमा यसको बजार देखेको श्रेष्ठ सुनाउँछन्। त्यसपछि भाडामा जग्गा लिएर खेती शुरू गरे। करीब ५० लाखको लागतमा शुरू भएको फार्ममा अहिले एक करोड लगानी पुगेको छ।
.jpg)
भुइँकाफलको बिरुवा विदेशबाटै आयात गर्दै आएका छन्। शुरूमा अमेरिका, स्पेन र भारतबाट बिरुवा ल्याएको उनी बताउँछन्। कुन जातको भुइँकाफल राम्रो फल्छ भनेर परीक्षण पनि गर्दै आए। “विदेशबाट १२ वटा जातका बिरुवा ल्याएका थियौं, पाँच वटा भरतपुरको हावापानीका लागि उपयुक्त रहेको पायौं,” श्रेष्ठ भन्छन्।
अहिले फार्ममा रुबी जेम, विन्टर डन, पाल्मारिटस, स्वीट एन, फ्लोरिडा ब्यूटी र स्वीट सेन्सेशन जातका बिरुवा लगाइएका छन्। जात अनुसार भिटामिन ‘सी’ बढी भएको, गुलियो बढी भएको, गुदी बढी भएको बिरुवा फार्ममा रोपिएका छन्। पछिल्लो वर्ष भने सबै जातका बिरुवा इजिप्टबाट ल्याएको उनी बताउँछन्।
फार्ममै बिक्री
रातो रङ, आकर्षक आकार, पोषणतत्त्व प्रशस्त पाइने र मीठो स्वाद हुने भुइँकाफल भिटामिन ‘सी’ र आइरनको उपयुक्त स्रोत पनि हो। फोलिक एसिडको मात्रा प्रचुर पाइने फल खाँदा हृदयाघातको सम्भावना कम गर्ने तथा यसमा रहेको एल्जिक एसिडले क्यान्सर विरुद्ध लड्न मद्दत गर्ने पोषणविद् बताउँछन्।
पोषणतत्त्वले भरिपूर्ण भए पनि लामो समय जोगाउन भने गाह्रो हुन्छ। “यो फल एकदमै मीठो हुन्छ र उत्तिकै चाँडै बिग्रन्छ,” श्रेष्ठ भन्छन्, “यसको अवगुण भनेकै धेरै समय राख्न सकिंदैन, चाँडै बिग्रन्छ। त्यसैले तुरुन्तै बजार पठाइहाल्नुपर्छ।”
विशाल श्रेष्ठ।
फलाउन पनि धेरै समय लाग्दैन। रोपेको तीन महीनादेखि नै फल दिन थाल्छ भने ६ महीनासम्म उत्पादन लिन सकिन्छ। भरतपुरमा उत्पादित भुइँकाफलले हातहातै बजार पाइराखेको छ। सबै उत्पादन फार्मबाट र भरतपुरका फलफूल पसलबाट बिक्री हुँदै आएको छ।
अझ सामाजिक सञ्जालको प्रयोगले त यो फार्मलाई प्रख्यातै बनाएको छ। फार्म अवलोकन गर्न, तस्वीर लिन, भुइँकाफल टिप्न र किन्न भीड लाग्ने गरेको छ।
मान्छेको भीड व्यवस्थापन गर्न गाह्रो भएपछि गत वर्ष सातामा दुई दिन मात्र फार्म खुला गरिएको थियो। यस पटक पनि पुस, माघ र फागुनमा सातामा दुई दिन सर्वसाधारणका लागि निःशुल्क प्रवेश गर्न दिने योजना बनाएको उनी बताउँछन्। चिसोका यी तीन महीना भुइँकाफल उत्पादन हुने समय हो।
गत वर्ष जस्तै यस वर्ष पनि ७०० रुपैयाँ प्रतिकिलोग्राममा बिक्री गर्ने फार्मको योजना छ। बिक्री गर्न खासै समस्या नहुने गरेको श्रेष्ठ बताउँछन्। “धेरै त हेर्न आउनेहरूले नै टिप्ने, जोख्ने अनि लिएर जाने गर्दा नै बिक्री भयो,” उनी भन्छन्, “एक दिनमा दुई हजार जनासम्म घुम्न आएका छन्।” यसले कृषि पर्यटनलाई पनि सघाएको उनको भनाइ छ।
.jpg)
गत वर्ष फार्मबाट करीब २५ लाख रुपैयाँको भुइँकाफल बिक्री भएको देवकोटा सुनाउँछन्। उनका अनुसार एउटै बोटबाट डेढ किलोग्रामसम्म उत्पादन लिन सकिन्छ। “करीब १७ हजार बिरुवा लगाएका थियौं, सरदरमा एउटाबाट ८०० ग्राम उत्पादन भएको थियो,” उनी भन्छन्।
शुरूआतमा त उनीहरूलाई पनि बजार पाउन मुश्किल भएको थियो। नारायणगढमा बिक्री गर्दा ककनीको उत्पादन भनेर बेच्नुपरेको देवकोटा सम्झिन्छन्। “अहिले बाहिरबाट आउने समेत चितवनकै स्ट्रबेरी हो भनेर बेच्ने गरिएको छ,” उनी हाँस्दै भन्छन्।
प्राथमिकतामा अध्ययन तथा अनुसन्धान
यो फार्ममा नियमित रूपमा पाँच जना काम गर्छन्। यस बाहेक गोडमेल एवं फल टिप्ने समयमा आवश्यकता अनुसार अरूले पनि रोजगारी पाउँछन्। नियमित काम गर्नेमा तीन जना कृषिकै विद्यार्थी छन्। प्राविधिक जनशक्तिका रूपमा खटिएका उनीहरूले भुइँकाफलको हेरचाह, गोडमेलसँगै रोगकीराको अध्ययन एवं अनुसन्धानमा देवकोटा र श्रेष्ठलाई सघाउँछन्।
फार्ममा अध्ययनका लागि आएका विदेशीसँगै ससन देवकोटा।
फार्म सञ्चालक श्रेष्ठ ‘इभालुएशन अफ लो चिलिङ स्ट्रबेरी भेराइटी एन्ड दियर म्यानेजमेन्ट प्राक्टिसेज इन चितवन नेपाल’ शीर्षकमा विद्यावारिधि गरिरहेका छन्। त्यस्तै, अर्का सञ्चालक देवकोटा ‘बायोलोजिकल एन्ड इकोलोजिकल स्टडी अफ टु स्पटेड स्पाइडर माइटस् एन्ड इट्स म्यानेजमेन्ट इन स्ट्रबेरी इन चितवन’ शीर्षकमा विद्यावारिधिका लागि अध्ययनरत छन्।
यो फार्म श्रेष्ठ र देवकोटाका लागि मात्र होइन, चितवनमा कृषि अध्ययन गर्ने विद्यार्थीका लागि पनि अध्ययन तथा अनुसन्धान गर्ने थलो बनेको छ। त्यसैले त फ्लोरिडा ब्यूटी र स्वीट सेन्सेशन व्यावसायिक उत्पादनका लागि र अन्य जातका भुइँकाफल अनुसन्धानका लागि लगाउने गरिएको छ।
व्यावसायिक रूपमा उत्पादन बढाउन फलको अगाडि फुलाउने कि पछाडि, गुलियोपन तथा भिटामिन बढाउने, रोगकीराको रोकथाम गर्ने विषयमा समेत फार्ममा अनुसन्धान हुँदै आएको छ। यससँगै भुइँकाफलको ‘मदर प्लान्ट’ ल्याएर आफैं बिरुवा उत्पादन गर्न पनि अनुसन्धान भइरहेको देवकोटा बताउँछन्।
.jpg)
गत वर्ष भुइँकाफलको जाम बनाएर बिक्री गरिएको थियो। जसलाई उपभोक्ताले रुचाएका थिए। यस वर्ष पनि उत्पादन धेरै भए जाम बनाउने योजना छ। भुइँकाफलको फलबाट जाम, जेल्ली, वाइन बनाउने तयारी चलिरहेको उनी बताउँछन्।
भुइँकाफलको बिरुवा आइपुगेको २४ घण्टाभित्रै रोप्ने गरी फार्म तयार गर्नुपर्छ। यो चिसो हावापानीमा मात्र फल्छ भन्ने गरिन्छ। चितवनमा प्रशस्त भुइँकाफल फलाउन सकिएकोमा उनीहरू खुशी छन्। “हामी जस्तै देशभरका किसान खुशी हुने वातावरण बनाउनुपर्छ, त्यसका लागि सरकारले कृषि अनुसन्धान र व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ,” देवकोटा भन्छन्।