प्रहरीको गोलीबाट मृत्यु भएका युवकको परिवारलाई १० लाख उपलब्ध गराइनेछ : गृह मन्त्रालय
सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर ज्यान गुमाएका युवकको परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराइने गृह मन्त्रालयले जनाएको छ।
गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईले शनिबार प्रेस विज्ञप्ति जारी गरी सरकारले मृतकको परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने बताएका हुन्। बरहथवा नगरपालिका-५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिको विषयलाई लिएर नेपाली कांग्रेस कार्यकर्ताले शुक्रबार प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो। प्रहरीले चलाएको गोली लागेर बरहथवा-६ का जयशंकर साहको मृत्यु भएको थियो।
त्यस्तै, गृह मन्त्रालयले घटनाको छानबिन गर्न समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेको छानबिन समिति गठन गरिएको छ।
घटनाको छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको गृहका प्रवक्ता भट्टराईले जनाएका छन्।