राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनमै सीट बाँडफाँड हुने
राष्ट्रिय सभाको निर्वाचनमा सत्तारूढ गठबन्धनबीचमै सीट बाँडफाँड हुने भएको छ।
सत्तारूढ चार दलको बैठकले गठबन्धनभित्रै सीट बाँडफाँड गर्ने तय गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस नेता रमेश लेखकले अब सबै सीटमा गठबन्धनले नै उम्मेदवार उठाउने तय भएको बताए।
“राष्ट्रिय सभा निर्वाचनमा बृहत् राजनीतिक सहमति गर्न सकिन्छ कि भन्ने प्रयास गरिएको थियो, एमालेले १९ सीटमै उम्मेदवार उठाउने निर्णय गरेपछि अब गठबन्धनले सबै सीटमा उम्मेदवारी दिने तय भएको छ,” लेखकले भने।
गठबन्धनमा सहभागी दलका नेताहरूले नेकपा (एमाले)लाई पनि राष्ट्रिय सभा निर्वाचनमा सीट बाँडफाँडका लागि छलफल गरेका थिए। संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउने विषयमा सहमति भएमा एमालेसँगै मिलेर राष्ट्रिय सभा चुनावमा उम्मेदवारी दिने गरी छलफल अघि बढेको थियो। अब भने त्यो ‘च्याप्टर’ बन्द भएको लेखकले बताए।
गठबन्धनमा रहेका दलहरूबीच नै सीट बाँडफाँड हुने भएको छ। त्यसका लागि आजै साँझ बैठक बस्ने नेता लेखकले बताए।