माइतीघर मण्डलबाट डा. गोविन्द केसी सहित नौ जना पक्राउ
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी सहित नौ जनालाई प्रहरीले माइतीघर मण्डलबाट पक्राउ गरेको छ।
सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने, स्वास्थ्य सेवा र शिक्षामा सबै नेपालीको समान पहुँच हुनुपर्ने लगायत माग राखी डा. केसी सहितका युवाले शनिबार माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गरेका थिए। उनीहरूले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। यस क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ।
यस विरुद्ध सर्वोच्च अदालतमा पनि मुद्दा परेको छ। यसमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ।