गठबन्धनमा उम्मेदवारको भागबन्डा नमिलेपछि कांग्रेस बैठक सर्यो
सत्तारूढ गठबन्धनमा राष्ट्रिय सभा निर्वाचनका लागि सीट बाँडफाँड नमिलेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि सरेको छ।
राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाउन शनिबार दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो। आज बोलाइएको बैठक विशेष कारणले सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
मुख्यसचिव पौडेलले शनिबार जारी गरेको सूचनामा भनिएको छ, ‘केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० पुस २१ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवश भोलि पुस २२ गते दिउँसो १ बजे बस्ने भएको छ।’
आगामी माघ ११ गते हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि चुनाव हुँदै छ। त्यसका लागि निर्वाचन आयोगले पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।
त्यसअघि उम्मेदवारको टुंगो लगाउन कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका थिए। तर सत्तारूढ गठबन्धनमा सीट बाँडफाँड हुन सकेको छैन। जसले गर्दा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि आइतबारका लागि सारिएको जनाइएको छ।