राष्ट्रिय सभाका १९ स्थानमै उम्मेदवारी दिने एमालेको निर्णय
नेकपा (एमाले)ले राष्ट्रिय सभामा रिक्त सबै सीटमा उम्मेदवारी दिने भएको छ।
एमाले सचिवालय बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा १९ वटै सीटमा मनोनयन दर्ता गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए। बैठकमा सात वटै प्रदेश कमिटीबाट आएका सिफारिशमा ‘क्लस्टर’ अनुसार प्रारम्भिक छलफल गरिएको उनले बताए।
एमालेले एक महिला सहित प्रत्येक प्रदेशबाट तीन जनाको नाम सिफारिश गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको थियो। “सिफारिश भई आएका उम्मेदवारको नाम क्लस्टर अन्तर्गत पर्ने/नपर्ने र प्रमाणित हुने/नहुने भन्ने विषय स्पष्ट भएर उम्मेदवारी दर्ताको तयारी गरेका छौं,” महासचिव पोखरेलले भने।
यसैगरी बैठकले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। प्रदेश अधिवेशनपछि निवर्तमान प्रदेश अध्यक्षलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको महासचिव पोखरेलले बताए।
महासचिवका अनुसार कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमती प्रदेशका केशवराज पाण्डे, कर्णाली प्रदेशका विनोद शाह र सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारीलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरिएको छ।
यसै गरी बैठकले लामो समयदेखि पार्टीका गतिविधिमा क्रियाशील झापा जिल्लाका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ।