सर्लाहीको बरहथवामा कर्फ्यू
सर्लाहीको बरहथवा नगरपालिकामा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।
प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिपछि हस्तान्तरणको विषयलाई लिएर भएको विवादमा शुक्रबार एक जनाको मृत्यु भएको छ। नेपाली कांग्रेस लगायत दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा बरहथवाका जयशंकर साहको मृत्यु भएको हो।
प्रहरीको गोली लागेर साहको मृत्यु भएको प्रदर्शनकारीले जनाएका छन्। त्यसको विरोधमा स्थानीय बासिन्दा पनि उत्रिएका छन्।
प्रदर्शन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, सर्लाहीले कर्फ्यू जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आदेश जारी गर्दै शुक्रबार साँझ साढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्म कर्फ्यू लगाएका हुन्।
बरहथवा नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्नियाँ पुलको क्षेत्रमा कर्फ्यू लगाइएको छ। यस क्षेत्रमा आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिंडडुल गर्न एवं अरू कुनै प्रकारका उच्छृंखल गतिविधि गर्न नपाइने आदेशमा उल्लेख छ।