साकार हुँदै स्वरसम्राट्को सपना
स्वरसम्राट नारायणगोपालले देखेको एउटा सपना उनले संसार छोडेको ३३ वर्षपछि साकार हुँदै छ।
विवाहका दुई दशक बितिसकेका थिए, स्वरसम्राट् नारायणगोपाल र पेमला गुरुवाचार्यका। त्यतिका वर्षसम्म सन्तान नभएपछि आफन्तजनले मुखै सामुन्ने भन्ने गर्थे, “तिमीहरूको सन्तान छैन, शेषपछि घरबार/सम्पत्तिको हेरचाह कसले गर्छ? कसले सम्हाल्छ?”
आफन्तको बोलीले पेमलाको मन निचोरिन्थ्यो। दुखेको घाउलाई कसैले कोट्याए झैं हुन्थ्यो। यस्तै अनुभव उनले बागीना पत्रिकाको ‘नारायणगोपाल स्मृति’ अंकमा ‘नारायणगोपालसँगका मेरा २० वर्ष’ शीर्षकमा खुलस्त पारेकी छन्।
चिनजानका धेरै मान्छेले धर्मपुत्र राख्न सल्लाह दिएका पनि थिए। नारायणगोपाल भने धर्मपुत्र पाल्नुभन्दा एउटा संगीत स्कूल खोलेर आर्थिक रूपमा विपन्न, असहाय व्यक्तिलाई संगीत सिकाउनुपर्छ भन्ने धारणा राख्थे। उनले उतिवेलै नाम पनि जुराएका थिए- गीत-गंगा।
जीवनभर स्कूल खोल्ने आँट आएन। त्यसका लागि न पुग्ने गरीको कमाइ थियो न त अन्य आर्थिक स्रोत। नारायणगोपाल जीवित छँदै उनको यो सपना पूरा हुन सकेन।
तर उनलाई जीवनको अन्तिम क्षणसम्म पछ्याइरह्यो। आईसीयूमा रहँदा पनि नारायणगोपालले पेमलालाई भनेका थिए, “म नरहे पनि तिमीले एउटा संगीत सम्बन्धी विद्यालय खोल्नू र वसन्त चौधरीलाई त्यसको अध्यक्ष बनाउनू। यस बाहेक नगेन्द्र थापा, विश्वम्भर प्याकुर्याल र मेरा अन्य साथीहरूलाई पनि त्यसमा समावेश गराउनू। तिमीले केही गर्नु पर्दैन, मेरा साथीहरूले तिम्रो इच्छा मुताबिक सहयोग गर्नेछन्।”
नारायणगोपालको उक्त सपना पेमलाले बागीना पत्रिका मार्फत प्रतिबिम्बित गरेकी छन्। उनले लेखेकी छन्, ‘उहाँको जीवनभरिको सिंगो अनुभवको उपलब्धि हो- यो नारायणगोपाल संगीत कोष, उहाँको अन्तिम इच्छाको प्रतिरूप हो- यो नारायणगोपाल संगीत कोष र उहाँका सम्पूर्ण साथीहरूको प्रयासको परिणति हो- यो नारायणगोपाल संगीत कोष।’
संगीत स्कूल खोल्ने सपना पूरा गर्ने उद्देश्यले नारायणगोपालले संसार छोडेकै वर्ष २०४७ सालमा पेमलाले ‘नारायणगोपाल संगीत कोष’ स्थापना गरिन्। २०६१ असार १६ मा पेमलाकाे पनि निधन भयो। त्यसपछि संगीत स्कूल स्थापना हुन सकेन। अहिले भने नारायणगोपालको सपना आकार हुंदै छ।
नारायणगोपाल संगीत कोषकै पहलमा ‘गीत-गंगा’ निर्माण भइरहेको छ। यसका लागि स्वरसम्राट्को घर भएकै ठाउँमा काठमाडौं महानगरपालिकाले साढे ६ करोडमा नयाँ भवन बनाइरहेको छ। जसको नाम दिइएको छ-नारायणगोपाल पेमला सुरमय गीत-गंगा।
आकार लिंदै गरेको नारायणगोपालको सपनाको संसारमा संगीत प्रशिक्षण र संगीत पुस्तकालय हुनेछन्। त्यसमै स्वरसम्राट्ले प्रयोग गरेका सरसामान पनि सजिनेछन्, संग्रहालयमा।
नारायणगोपाल संगीत कोषका महासचिव दीपक केसी गीत-गंगा र संग्रहालय बनाउने काम भइरहेको बताउँछन्। “कोही मान्छे जन्मन्छ, सामान्य जीवन बाँचेर जान्छ। कोही मान्छे भने सबैको भएर जान्छ,” केसी भन्छन्, “नारायणगोपाल सबैका मान्छे हुन्, उनका हरेक कुरा संरक्षण गर्नेछौं।”
नारायणगोपालको संगीत विद्यालय बनाउने सपना पनि पूरा गर्न लागिएको उनी सुनाउँछन्। “संगीतको श्रीवृद्धिका लागि संगीत विद्यालय बनोस् भन्ने उनको सपना थियो,” केसी भन्छन्, “संगीत विद्यालय यही वर्षभित्र बनाइसक्ने कोशिश गरिरहेका छौं।”
स्वरसम्राट्ले देखेको सपना पूरा गर्नु राज्यसँगै नागरिकको पनि कर्तव्य भएको नारायणगोपालका दौंतरी गीतकार नगेन्द्र थापा बताउँछन्। उनीसँग सम्बन्धित हरेक वस्तु महत्त्वपूर्ण भएकाले संरक्षण गर्नुपर्ने थापाको भनाइ छ। “नेपालका स्वरसम्राट् हुन् नारायण। यो उपाधि सानो होइन। फेरि जनताले स्वतस्फूर्त दिएको उपाधि हो,” थापा भन्छन्, “स्वरसम्राट्ले देखेको सपना पूरा गरिंदै छ, खुशी लागेको छ।”
संगीत विद्यालय स्थापनासँगै राम्ररी सञ्चालन गर्न पनि उत्तिकै जरूरी रहेको थापा बताउँछन्। यससँगै नारायणगोपाल र पेमलाको परिश्रमले बनेको घर र उनीहरूसँग जोडिएका सामग्री संरक्षण गर्नुपर्नेमा थापाको जोड छ।
अहिले नारायणगोपालको घरलाई नै संग्रहालय बनाएर दुवैले प्रयोग गरेका सामग्री सुरक्षित राख्न थालिएको छ। जस अन्तर्गत अभिलेखीकरण भइरहेको कोषले जनाएको छ।
संग्रहालयमा नारायणगोपालले चलाएको मोटरसाइकल, उनले पाएका पुरस्कार तथा प्रमाणपत्र, पदकहरू, बजाएका वाद्यवादन, उनले हेर्ने टेलिभिजन, पलङ, भान्साका सामान राखिंदै छन्। त्यस्तै, पेमलाले लगाएका साडी, सजाएका सामग्री, चिठीपत्र पनि संग्रहालयमा राखिनेछन्।
त्यस बाहेक भायोलिन, काठको दराज, तबला, हार्मोनियम, सितार, खुकुरी, पेमलाका चश्मा, काइँयो, टेलिफोन सेट, प्रिन्टर, सोफा पनि संग्रहालयमा देख्न पाइनेछ। यससँगै फोटो अल्बम, नोटहरू, नारायणगोपालको डायरी, राहदानी, टोपी, जुत्ता, ऐना पनि संगृहीत गरिंदै छ।
यो पनि पढ्नुहोस् : नारायणगोपाल सम्झाउने बा.अ.म. ६४८